काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो देशको दास व्यापारको इतिहासप्रति दुःख व्यक्त गरेका छन् ।
दास व्यापारमा बेलायतको भूमिका इतिहासको लज्जास्पद पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सम्झँदा आफूलाई गहिरो पीडा हुने बताएका छन् ।
एन्टिगुवा र बारबुडामा राष्ट्रमण्डल सदस्य राष्ट्रका नेताहरूको बैठक उद्घाटन गर्दै उनले दास प्रथाको इतिहासले अहिले पनि क्यारिबियन क्षेत्रका देश तथा राष्ट्रमण्डलका अन्य सदस्यलाई प्रभावित पारिरहेको बताए । इतिहास बदल्न नसकिए पनि त्यसबाट सिक्न सकिने उल्लेख गर्दै उनले विगतका गल्ती स्वीकार गरेर अन्यायविरुद्ध दृढताका साथ अघि बढ्नुपर्ने बताए ।
राजा चार्ल्सको अभिव्यक्ति बेलायतसँग दास प्रथाका लागि औपचारिक माफी र क्षतिपूर्तिको माग भइरहेका बेला आएको हो । सन् १५०० देखि १८०० को अवधिमा बेलायतले अफ्रिकाका करिब ३२ लाख मानिसलाई अटलान्टिक महासागर पार गराएर उपनिवेशहरूमा दासका रूपमा पुर्याएको तथ्यांक छ । बेलायतले सन् १८०७ मा दास व्यापारमा प्रतिबन्ध लगाएको थियो भने सन् १८३३ मा दास प्रथा अन्त्य गर्ने कानुन पारित गरेको थियो ।
दास प्रथा अन्त्य भएपछि बेलायतले पीडितलाई नभई दासका मालिकलाई दुई करोड पाउन्ड क्षतिपूर्ति दिएको थियो । अहिले क्यारिबियन देशहरूले बेलायतसँग माफी र क्षतिपूर्ति मागिरहेका छन् । बेलायती सरकारले भने क्षतिपूर्तिको सट्टा राष्ट्रमण्डलका सदस्य देशलाई ऋणको ब्याजभारबाट राहत दिने योजना अघि सार्ने तयारी गरेको छ । राजा चार्ल्सको दरबारले क्षतिपूर्तिको निर्णय राजाको नभई सरकारको जिम्मेवारी भएको स्पष्ट पारेको छ ।









