• २०८३ कार्तिक १९ बिहीबार

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ ।

मस्कले टेक्सससहित एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटाका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको पक्षमा करोडौँ डलर खर्च गरेका थिए । टेक्ससमा सिनेटको सिटका लागि भएको प्रतिस्पर्धामा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरे । प्याक्सटनको समर्थनमा मात्रै मस्कले कम्तीमा चार करोड ५० लाख डलर खर्च गरेको एक प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि मस्कले सामाजिक सञ्जाल एक्समा व्यङ्ग्यात्मक टिप्पणी गर्दै आफ्नो ‘निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्षीय लेजर’ले काम नगरेको बताएका थिए । उनले यसअघि डेमोक्र्याटिक उम्मेदवार विजयी भएमा आप्रवासन बढ्ने, वासिङ्टन डिसी र पोर्टो रिको राज्य बन्ने तथा सर्वोच्च अदालतका न्यायाधीशको सङ्ख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । निर्वाचनपछि उनले तीमध्ये केही टिप्पणी हटाएका छन् ।

रिपब्लिकन उम्मेदवारको पराजयले मस्कका कम्पनीहरू टेस्ला र स्पेसएक्समाथि सरकारी निगरानी तथा नियमन बढ्न सक्ने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि स्पेसएक्सले अनुमानित १० अर्ब डलर बराबरका नयाँ सरकारी ठेक्का पाएको बताइएको छ । डेमोक्र्याटिक सांसदहरूले सरकारी काम र राष्ट्रिय सुरक्षामा कम्पनीको बढ्दो भूमिकामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने प्रविधि कम्पनीका विशाल तथ्याङ्क केन्द्र निर्माणमा पनि नयाँ चुनौती थपिन सक्ने देखिएको छ । जर्जियासहित विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको तीव्र विस्तार नियन्त्रण गर्ने तथा प्रविधि कम्पनीलाई दिइने कर छुट घटाउने विषय निर्वाचनका प्रमुख मुद्दा बनेका थिए । मंगलबार विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको विस्तार सीमित गर्ने दर्जनौँ प्रस्ताव पारित भएका छन् ।

निर्वाचन परिणामले प्रविधि क्षेत्रमा थप नियमनको सम्भावना बढाएपछि लगानीकर्तामाझ अनिश्चितता सिर्जना भएको विश्लेषकहरूको भनाइ छ । डेमोक्र्याटिक सांसद एड मार्कीले ठूला प्रविधि कम्पनीका प्रमुखमाथि छानबिन हुने सङ्केत गर्दै धेरै समन जारी गर्नुपर्ने टिप्पणी गरेका छन् ।

बुधबार बिहान अधिकांश प्रविधि कम्पनीका सेयर बढे पनि टेस्लाको सेयर ४.९ प्रतिशत र स्पेसएक्सको ३.४ प्रतिशतले घटेको थियो । निर्वाचनपछि मस्कले राजनीतिक विषयमा टिप्पणी गर्न छाडेर आफ्नो कम्पनी एक्सएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता प्रणाली ‘ग्रोक’को प्रशंसा गर्न थालेका थिए ।

यसैबीच, लिङ्क्डइनका संस्थापक तथा डेमोक्र्याटिक पार्टीका प्रमुख दाता रिड हफम्यानले निर्वाचन परिणामलाई अपेक्षाभन्दा ठूलो सफलता भन्दै स्वागत गरेका छन् । उनले मस्कजस्ता अर्बपतिले अधिनायकवादी प्रवृत्तिका नेताहरूलाई सत्तामा राख्न ठूलो रकम खर्च गरिरहेको टिप्पणी गर्दै अमेरिकी लोकतान्त्रिक मूल्यमा विश्वास गर्नेहरू पछि हट्न नहुने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै