काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले उद्घाटन गरेका छन् ।
केन्द्रको स्थापनाले नेपाली उद्योगको उत्पादन लागत घटाउन, गुणस्तर सुधार गर्न र नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्री साहले केन्द्रको सञ्चालन उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण कदम भएको बताएका छन् ।
उद्योग मन्त्रालयका अनुसार अब प्रयोगशाला, स्वास्थ्य परीक्षण प्रयोगशाला, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट परीक्षण र प्रमाणीकरणमा लाग्ने समय तथा खर्च घट्नुका साथै विदेशी निकायमाथिको निर्भरता कम हुनेछ ।
खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री र विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउन पनि केन्द्रले भूमिका खेल्नेछ । यसले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सहयोग पुग्ने सरकारको विश्वास छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गरी नेपाली उत्पादनको गुणस्तरप्रति विश्व बजारमा विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।









