काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ कात्तिक २० गते अर्थात् शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भएपछि निर्माण पक्षले पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको हो ।
यसअघि सञ्चार मन्त्रालयले चलचित्रको विषयमा विवाद भएपछि छलफलका लागि बोलाएको थियो । सो छलफलमा पनि निर्धारित समयमा नै चलचित्र प्रदर्शन गर्ने सहमति भएको थियो ।
निर्माण पक्षले विज्ञप्ति जारी गर्दै चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलको अपमान गर्ने उद्देश्य नराखेको जनाएको छ। चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुलिसकेको छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको छ। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।









