काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि विश्वका धनाढ्य व्यवसायी एलन मस्क फेरि चर्चामा आएका छन् ।
निर्वाचनअघि रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा खुलेर प्रचार गरेका मस्कले सामाजिक सञ्जालमा राखेको चर्चित पोस्ट ‘भोट रेड टुडे!’ हटाएका छन् । मस्कको कृत्रिम बौद्धिकता प्रविधिमा आधारित संवाद प्रणाली ग्रोकले समेत सोधिएको प्रश्नको जवाफमा उक्त पोस्ट हटाइएको बताएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि बुधबार बिहान मस्क सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका थिए । उनले निर्वाचन नतिजा र त्यसको विश्लेषणसँग सम्बन्धित विभिन्न पोस्ट पुनः साझा गरेका थिए ।
अमेरिकी पूर्वी समयअनुसार राति करिब १ बजे उनले व्यंग्यात्मक शैलीमा लेखेका थिए, ‘यसपटक मेरो निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्ष लेजरहरूले काम गरेनछन् जस्तो छ ।’ यसअघि उनले अन्तरिक्षमै तथ्याङ्क केन्द्र निर्माण गर्ने विषयमा पनि टिप्पणी गरेका थिए । त्यस्तै, रिपब्लिकन पार्टीका नीतिलाई समर्थन गर्ने मतदाताले समेत डेमोक्र्याटिक उम्मेदवारलाई मतदान गरेको दाबी गरिएको एउटा पोस्टमा पनि मस्कले प्रतिक्रिया दिएका थिए ।
उनले जवाफमा क्यालिफोर्नियामा मतदाता परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव असफल भएको विषय उठाएका थिए । उक्त प्रस्तावअनुसार मतदान गर्न सरकारी तस्बिरसहितको परिचयपत्र वा हुलाकमार्फत मतदान गर्दा पहिचानसम्बन्धी विवरण अनिवार्य गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।
निर्वाचनअघि रिपब्लिकन उम्मेदवारहरूको पक्षमा सक्रिय देखिएका मस्क निर्वाचन परिणामपछि आफ्नै पुरानो पोस्ट हटाएको दाबीसहित पुनः चर्चामा आएका हुन् ।
दुवै सदनमा डेमोक्रेटको बहुमत भएपछि अब मस्कको समेत संकट बढ्ने अनुमान गरिएको छ । मस्कका कम्पनीले अमेरिकी सरकारबाट बर्षेनी पाउने अर्बौं डलरको ठेक्कामा समेत प्रभाव पर्न सक्ने अड्कलबाजी गरिएको छ ।
मस्कले यस निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरेको दाबि गरिएको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ ।









