कञ्चनपुर । सार्वजनिक रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।
काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा सवार महिला यात्रुमाथि उनीहरूले मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









