काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर उस्मान ख्वाजाले सन् २०१८ को बल टेम्परिङ विवादबारे आफूले गरेको खुलासाबाट कसैलाई फसाउन खोजेको नभई सम्पूर्ण टोलीले घटनाको सामूहिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
आफ्नो आत्मकथा ‘सब्र’ र सिड्नी मर्निङ हेराल्डलाई दिएको अन्तर्वार्तामा ख्वाजाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बलमा स्यान्डपेपर प्रयोग गर्ने योजनाका लागि पूरै टोली जिम्मेवार हुनुपर्ने बताएका थिए ।
आठ वर्षअघि भएको उक्त विवादमा तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टलाई मात्र कारबाही गरिएको थियो ।
आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भिडियोमार्फत आफ्नो भनाइ स्पष्ट पार्दै ख्वाजाले टोलीका सबै सदस्यले घटनाको सामूहिक जिम्मेवारी लिनुपर्ने आफ्नो आशय रहेको बताएका छन् ।
उनले घटनाबारे सबैलाई जानकारी थियो भन्ने विषय अस्वीकार नगर्ने पनि स्पष्ट पारेका छन् । उनका अनुसार यो कुनै एक वा केही खेलाडीको मात्र विषय नभई टोलीकै सामूहिक जिम्मेवारीसँग जोडिएको घटना हो ।









