• २०८३ कार्तिक २४ मंगलबार

नेपाल संवतले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस्- राष्ट्रपति पौडेल

नेपाल संवतले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस्- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल संवत् ११४७ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन् ।

उनले लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरणमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल संवत्जस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै आएको बताएका छन्।

उनले शङ्खधर साख्वाको सामाजिक मुक्ति र लोककल्याणकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

साथै, नेपाल संवत्ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन तथा नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै