काठमाडौँ । वरिष्ठ गायिका शर्मिला बर्देवा र गायक बिनोद श्रेष्ठको युगल स्वरमा नयाँ गीत ‘नजाऊ भाइ’ सार्वजनिक भएको छ । धेरै समयपछि शर्मिला बर्देवाको स्वर सुन्न पाउनु यो गीतको सबैभन्दा ठुलो आकर्षण हो ।
गीतले दाजुभाइ र दिदीबहिनीबीचको मायालाई समेटेको छ। परिवारलाई छोडेर टाढा जान लागेको भाइलाई “नजाऊ” भन्दै रोक्न खोजिएको छ। शीर्षकमै गीतको कुरा भेटिन्छ। टाढा जाने मान्छेले घरमा कस्तो खाली ठाउँ छोडेर जान्छ भन्ने कुरा नै यो गीतको केन्द्रमा छ।
भिडियोमा पनि त्यही कुरालाई परिवारको कथा बनाएर देखाइएको छ। हरिया पहाड, खेलिरहेका बालबालिका र पात्रहरूको अनुहारमा देखिने चिन्ता तथा माया हेर्दा आफ्नै घर र बिछोडका क्षण सम्झन मन लाग्छ।
गीतका शब्द दुर्गा कार्कीका हुन्। सङ्गीत देव कोइमीको र संयोजन विक्रम कार्कीको हो। गीत भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
नियोन लामाको निर्देशनमा बनेको भिडियोमा शिला गजुरेल, रिजन कार्की, आर्याही कार्की, आरोहण श्रेष्ठ, मानबहादुर तामाङ, ठुलीमाया तामाङ, सबिन राजभण्डारी र तारा बखरियाले अभिनय गरेका छन्। पोस्ट प्रोडक्सन नियोन क्रिएसन स्टुडियोले गरेको हो भने निर्माता सजना श्रेष्ठ र माइलस्टोन सिनर्जी प्रा. लि. हुन्।
‘नजाऊ भाइ’ OSR Digital को आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न पाइन्छ ।









