काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछाएको जनकपुरले १९.५ ओभरमा अल आउट हुदै ९३ रन मात्र बनाएको थियो । जनकपुरका लागि तृतराज दासले २१ र जिम्मी निशामले २० रन बनाएका थिए ।
त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलेनले ३ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायाके, दिपेन्द्र सिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्का कप्तान हर्मित सिंहले ४ विकेट लिए ।
सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमूलेनले सर्वाधिक ३३ रन बनाए भने विनोद भण्डारी र सैफ जैबले १०-१० रन बनाए। त्यसपछि आएका इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी क्रमशः ३ र १ रनमा पेभेलियन फर्किए। आरिफ शेख ११ रनमा डगआउट फर्किए । मध्यक्रममा आएका थरिन्दु रत्नायकेले अविजित ३७ रन बनाएका थिए ।
त्यस्तै जनकपुर बोल्ट्सका लागि बलिङतर्फ कप्तान हर्मितको साथमा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता, अभिषेक तिवारीले १-१ विकेट लिए ।
यो जितपछि सुदूरपश्चिमको ६ खेलमा चौथो जितसहित ८ अंक भएको छ भने जनकपुरले ६ खेलमा चौथो हार बेहोरेको छ ।









