काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगर किंग्ससँग पोखरा एभेन्जर्स ४ विकेटले पराजित भएको छ ।
हारसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
६ खेलमा ५ हारसहित पोखराको केवल २ अंक रहेको छ भने विराटनगर किंग्सको ६ खेलमा ६ अंक भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो । पोखराले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १३६ रनसहित लक्ष्य पूरा गरेको हो।
विराटनगर किंग्सका लागि ओपनर ब्याटर वसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा समान २ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले ३३ नर बनाए। अर्का ओपनर इम्रान शेखले १० रनमात्रै बनाए। चारिथ आशलंका डकआउट हुँदा एन्जेलो म्याथ्यूस ८ रनमा क्याच भए ।
सेहान जयसुरिया १७ र इसुरु उडाना २५ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि बलिङतर्फ, रमेश मेन्डिस र कुशल भुर्तेलले समान २-२ विकेट लिँदा विपिन खत्री र धनन्जय लक्सले १-१ विकेट लिए ।
त्यसअघि पहिलो इनिङ्समा पोखराको ब्याटिङ सन्दीपको घातक बलिङमा धरापमा पर्यो। सन्दीपको किफायती बलिङले पोखरा १३२ मा समेटिएको थियो ।
पोखराका लागि ओपनर युवराज सम्राले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
शीर्ष क्रमका अन्य ३ ब्याटर दोहोरो अंक नबनाई पेभेलियन फर्किए । त्यस्तै, सन्नी विकले १२ रन र धनन्जय लक्सनले २२ रन बनाए। रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्ना डक आउट भए।
विराटनगरका कप्तान समेत रहेका सन्दीपले ४ ओभरमा २७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।
यो जितपछि विराटनगरको ६ खेलमा ६ अंक भएको छ र चौथो स्थानमा पुगेको छ ।









