काठमाडौं । युईएफए नेसन्स लिग फुटबलअन्तर्गत नेदरल्यान्ड्सले ग्रिसमाथि ७–० को फराकिलो जित हासिल गरेको छ । गएराति एम्स्टर्डमस्थित जोहान क्रुफ एरिनामा भएको लिग ‘ए’ समूह २ को खेलमा नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै ग्रिसलाई पराजित गरेको हो ।
नेदरल्यान्ड्सको जितमा टिजानी रेइन्डर्सले ह्याट्रिक गरे भने जुरीएन टिम्बरले दुई गोल गरे । क्रिसेन्सियो समरभिल र डोनियल मालेनले एक–एक गोल थपे ।
खेलको छैटौँ मिनेटमा समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि रेइन्डर्सले १२औँ, १८औँ र पहिलो हाफको अन्त्यअघि गोल गर्दै ह्याट्रिक पूरा गरे । टिम्बरले पहिलो हाफमै पाँचौँ गोल थपेपछि नेदरल्यान्ड्स ५–० को अग्रतामा रहेको थियो ।
दोस्रो हाफमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरे भने मालेनले अर्को गोल थप्दै नेदरल्यान्ड्सको जित ७–० बनाए ।
यस जितसँगै नेदरल्यान्ड्स समूह २ को शीर्ष स्थानमा ११ अंकसहित रहेको छ । नेसन्स लिगको इतिहासमा सबैभन्दा फराकिलो जितको कीर्तिमानसँग पनि नेदरल्यान्ड्सले बराबरी गरेको छ ।
नेसन्स लिगकै अर्को खेलमा जर्मनीले सर्बियालाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र ब्रायन ग्रुडाले गोल गरे भने एक गोल सर्बियाका खेलाडी स्र्दान बाबिचबाट आत्मघाती भएको थियो ।
खेलको तेस्रो मिनेटमै काइ हाभर्ट्जको हेडर सर्बियाका बाबिचलाई लागेर गोलमा परिणत भएपछि जर्मनीले अग्रता लिएको थियो । १४औँ मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि जर्मनीका लागि डेब्यु खेल खेलिरहेका ब्रायन ग्रुडाले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।
सर्बियाका बाबिचले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलको अन्तिम समयमा सर्बियाका भान्या ड्रागोजेभिच र आन्द्रिया झिभ्कोभिचले रातो कार्ड पाएपछि घरेलु टोली नौ खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै जर्मनी ८ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको ग्रिससँग अंक बराबरी गर्न सफल भएको छ। नेदरल्यान्ड्स भने ११ अंकसहित शीर्ष स्थानमा छ ।
समूह ‘ए’ २ बाट क्वार्टरफाइनलमा पुग्ने दुई टोलीको टुंगो अन्तिम चरणका खेलबाट लाग्नेछ ।









