काठमाडौं । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यात्रुवाहक सवारीसाधन तथा सार्वजनिक यातायात सञ्चालनका लागि नयाँ व्यवस्था लागू गरेको हो ।
काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने भीमफेदी सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
साँघुरा सडकखण्ड, सडकको खराब अवस्था, यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधनको प्रयोग, चालकको लापरबाही, तीव्र गति, मिरमिरे र घुम्ती भएका सडक तथा रातिको समयमा असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ ।
त्यस्तै, सवारी चालक र यात्रुवाहक सवारीसाधनबीचको तीव्र प्रतिस्पर्धा, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढाएको प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार अब काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनले बिहान ५ बजे देखि साँझ ८ बजेसम्म चल्ने छन् । बिहान ५ बजेदेखि मात्रै उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न पाइने र ८ बजेपछि बन्द गरिने व्यवस्था गरिएको छ ।
प्रशासनले यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, काठमाडौँ जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने प्रहरी एकाइ तथा ट्राफिक प्रहरीले कडाइका साथ सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउन भनिएको छ ।









