• २०८३ मङ्सिर ३ बिहीबार

इजरायली संसदको सभामुखमा कहाना निर्वाचित, नेतान्याहूलाई धक्का

इजरायली संसदको सभामुखमा कहाना निर्वाचित, नेतान्याहूलाई धक्का

काठमाडौँ । इजरायलको संसद् नेसेटले मतान कहानालाई नयाँ सभामुखमा निर्वाचित गरेको छ ।

कहानाले ६६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लिकुड पार्टीका ओफिर काट्जले ५२ मत पाएका थिए । सभामुख चयनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षधर सांसदहरूले करिब ६ घण्टा अवरोध गरेका थिए ।

गाडी आइसेनकोट नेतृत्वको गठबन्धनबाट सभामुख निर्वाचित कहाना संसद्मा शक्तिशाली पदमा पुगेका हुन् । उनको पक्षमा आइसेनकोट नेतृत्वको दलसहित यिसरेल बेइतेनु, बियाचाद, डेमोक्र्याट्स तथा अरब समुदायका रा'म र ज्वाइन्ट लिस्ट दलले समर्थन गरेका थिए ।

सभामुख चयनसँगै नेतान्याहुको गठबन्धनले संसद्मा आफ्नो बहुमत गुमाएपछि विपक्षी गठबन्धनले संसद्मा प्रभाव बढाउने बाटो खुलेको छ र यसलाई नेतान्याहुको पक्षधरका लागि ठुलो धक्काको रुपमा हेरिएको छ । नयाँ सभामुखले संसद्को कार्यसूची, विधेयक अघि बढाउने प्रक्रिया तथा संसदीय कामकारबाहीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । नयाँ गठबन्धनले पूर्ववर्ती सरकारको न्यायिक सुधारसम्बन्धी विवादित कानुन खारेज गर्ने तयारीसमेत गरेको छ ।

सभामुख निर्वाचित भएपछि कहानाले संसद् सबै नागरिकको साझा संस्था भएको बताउँदै धर्म, जाति वा लिङ्गका आधारमा विभेद नगरी सबैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले संसद्ले न्यायालयका आदेशको सम्मान गर्ने तथा राजनीतिक विभाजन, घृणा र अतिवादबाट टाढा रहनुपर्ने बताएका छन् । उता नेतान्याहु पक्षले अरब दलहरूको समर्थनमा सभामुख निर्वाचित भएको भन्दै विरोध जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै