काठमाडौँ । अन्तर्राष्ट्रिय पुरुष दिवस आज नोभेम्बर १९ मा मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘सबैको भविष्य’ रहेको छ । यसले स्वस्थ परिवार, कार्यस्थल र समाज निर्माणका लागि महिला तथा पुरुषबीच समानता, सहकार्य र साझा जिम्मेवारीमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय पुरुष दिवस सन् १९९९ मा त्रिनिडाड तथा टोबागोमा इतिहासका प्राध्यापक डा. जेरोम टिलक्सिङले सुरु गरेका थिए । उनले पुरुष तथा बालकका सकारात्मक भूमिकालाई सम्मान गर्ने, उनीहरूको स्वास्थ्य र कल्याणका विषयलाई प्राथमिकता दिने तथा समाजमा सकारात्मक पुरुष आदर्श स्थापित गर्ने उद्देश्यले यो दिवस सुरु गरेका थिए ।
यस दिवसले पुरुष तथा बालकको शारीरिक र मानसिक स्वास्थ्य, सामाजिक चुनौती, लैङ्गिक समानता, परिवारप्रतिको जिम्मेवारी तथा समाजमा उनीहरूको सकारात्मक योगदानलाई उजागर गर्ने लक्ष्य राख्छ । साथै, पुरुषहरूलाई स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न र आवश्यक उपचार लिन प्रोत्साहित गरिन्छ ।
अन्तर्राष्ट्रिय पुरुष दिवस महिला दिवसको प्रतिस्पर्धी नभई पुरुषका अनुभव, समस्या, योगदान र सम्भावनालाई सम्मान गर्ने अवसरका रूपमा मनाइन्छ । यस वर्षको अभियानले अन्तर्राष्ट्रिय पुरुष दिवसलाई संयुक्त राष्ट्रसंघबाट औपचारिक मान्यता दिलाउनेदेखि महिला तथा पुरुषबीच सम्मान, सहकार्य र समानतामा आधारित समाज निर्माण गर्नु रहेको छ ।









