काठमाडौं । चीनको सेन्जेनमा जारी ३३औँ एपेक आर्थिक नेताहरूको शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले आफूहरूबीच धेरै वर्षदेखि राम्रो सम्बन्ध रहेको बताएका छन् ।
ट्रम्पले पुटिनसँगको भेटको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै वार्ताबाट सकारात्मक उपलब्धि हासिल हुन सक्ने बताएका छन् । उनले आफूहरू लामो समयदेखि एकअर्कालाई चिनेको र सम्बन्ध पनि राम्रो रहेको बताएका हुन् ।
यसैबीच, नौ वर्षपछि पुटिन एपेक शिखर सम्मेलनमा सहभागी भएका छन् । यसअघि उनी सन् २०१७ मा भियतनाममा आयोजित सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनको सामूहिक तस्बिरमा पनि पुटिन मध्यभागमा देखिएका छन् । सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री साने ताकाइचीले पनि पुटिनसँग भेटवार्ता गरेकी छन् । उक्त भेटमा रुसमा हिरासतमा रहेका जापानी नागरिकको अवस्था र रुसी क्षेत्रमा रहेका जापानी कम्पनीको सुरक्षालगायत विषय उठाइएको जापानी पक्षले जनाएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले एसिया–प्रशान्त क्षेत्रका साझेदार राष्ट्रलाई रुसी यातायात तथा ढुवानी सञ्जाल प्रयोग गर्न आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षामा रुसको योगदान रहेको उल्लेख गर्दै साझेदार राष्ट्रले सुरक्षाका विषयमा रुसमाथि भरोसा गर्न सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कृत्रिम बौद्धिकताको विकास र नियमनबारे चर्चा गर्दै यसको प्रगतिमा अवरोध पुग्ने खालका नियम बनाउन नहुने बताएका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न अमेरिका प्रतिबद्ध रहने पनि उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जीनपीङले भने खुला व्यापार, आर्थिक सहकार्य, हरित विकास र क्षेत्रीय साझेदारीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले एपेकअन्तर्गत व्यावहारिक सहकार्यका लागि चीनले दुई करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गर्दै सेन्जेनमा एसिया–प्रशान्त क्षेत्रीय सहकार्य अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका छन् ।









