काठमाडौं । दिवंगत अभिनेता सुनील थापाले अभिनय गरेको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।
धीराज राजवंशीको लेखन तथा निर्देशन रहेको चलचित्रमा यार्सागुम्बा संकलन, त्यससँग जोडिएको संघर्ष, लुटपाट र मानवीय स्वार्थको कथा प्रस्तुत गरिएको छ । सन् १९९० को परिवेशमा आधारित चलचित्र थ्रिलर तथा नाटक विधामा निर्माण भएको हो ।
चलचित्रमा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बू, मेनुका प्रधानलगायत कलाकारको अभिनय छ । समुद्री सतहबाट करिब ४ हजार ८०० मिटर उचाइमा छायांकन गरिएको चलचित्रमा हिमाली क्षेत्रको जीवनशैली र यार्सागुम्बासँग जोडिएको आर्थिक निर्भरतासमेत चित्रण गरिएको छ ।
नेपालमा चलचित्रले वयस्क प्रमाणपत्र पाएको छ भने भारतमा १६ वर्षमाथिका दर्शकका लागि प्रदर्शन अनुमति पाएको छ । चलचित्र भारतमा एए फिल्म्समार्फत वितरण गरिएको छ ।









