काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलमा जगपूजा गरी भवनको शिलान्यास गरेकी हुन् ।
भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ । साढे तीन तलाको भवन परम्परागत नेवारी वास्तुकलामा इँटा, काठ, चुना र सुर्कीजस्ता सामग्री प्रयोग गरी निर्माण गरिनेछ ।
भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष, पहिलो तलामा दर्शन तथा निवास कक्ष र दोस्रो तलामा भान्छा तथा शयन कक्ष रहनेछन् । भवनको कुल क्षेत्रफल ४ हजार १६ दशमलव २५ वर्गफिट हुनेछ ।
शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले लामो प्रयासपछि ऐतिहासिक कामको सुरुआत भएको बताउँदै निर्माणमा स्थानीयको अपनत्व र निगरानी आवश्यक रहेको उल्लेख गरेकी छन् ।









