• २०८३ मङ्सिर ६ आइतबार

नेपाल–जापान महोत्सवको तयारी पूरा, ४६ वर्षपछि आउदै सांगीतिक समूह ‘गोदाइगो’

नेपाल–जापान महोत्सवको तयारी पूरा, ४६ वर्षपछि आउदै सांगीतिक समूह ‘गोदाइगो’

काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहकार्यमा हुन लागेको महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक समूह ‘गोदाइगो’ को विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौँको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको यो समूह ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो ।

महोत्सवमा जापानका चर्चित हिपहप कलाकार मम्मी–डीसँगै कुटुम्ब, सबिन राई एन्ड द फारोहलगायत नेपाली सांगीतिक समूहले पनि प्रस्तुति दिनेछन्। नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधि पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवले मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ। जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलित रकममध्ये करिब ३० लाख रुपैयाँ भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने गोदाइगोले जनाएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापार क्षेत्रमा सहकार्य हुँदै आएको छ । महोत्सवले दुई देशबीचको मित्रता थप सुदृढ बनाउनुका साथै सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै