कञ्चनपुर । बाढीको जोखिम न्यूनीकरण तथा सम्भावित मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाले जल सतर्कता निगरानी प्रणाली थप सुदृढ बनाएको छ ।
नगरपालिकाले महाकाली नदीको चार लेन क्षेत्रमा तथा जोगबुडा नदीको बाबाथान–कञ्चभोज पुलनजिक प्रत्यक्ष निगरानी प्रणाली जडान गरेको हो ।
विद्यमान बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ निगरानी प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट नदीको अवस्था निगरानी गर्न र सम्भावित बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले यसलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सुरक्षित दोधारा चाँदनी निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाइएको नगरपालिकाको भनाइ छ ।









