• २०८३ मङ्सिर ६ आइतबार

वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरको विशेष कार्ययोजना, के के गर्दैछ ?

वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरको विशेष कार्ययोजना, के के गर्दैछ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० उद्देश्य, २७ रणनीतिक क्षेत्र र ९८ क्रियाकलाप समेटिएको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले तयार पारेको कार्ययोजनामा सडकको धुलो, सवारीसाधनको धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण र हरियाली विस्तारलाई प्राथमिकता दिइएको छ । मस्यौदामाथि महानगरपालिकाले उच्चस्तरीय साझेदारहरूसँग परामर्शसमेत गरेको छ ।

कार्ययोजनामा कालो धुवाँ फाल्ने सवारीसाधनको नियमन, खुला रूपमा फोहर जलाउने कार्य नियन्त्रण, निर्माणस्थलको धुलो व्यवस्थापन, विद्युतीय सवारीसाधन र चुलोको प्रयोग प्रोत्साहन तथा सडक र सार्वजनिक क्षेत्रमा वृक्षरोपण गर्ने कार्यक्रम समेटिएका छन् ।

त्यस्तै, वायु प्रदूषणको उच्च जोखिमका बेला नागरिकलाई पूर्वसूचना दिने व्यवस्था विकास गर्ने प्रस्ताव गरिएको छ । वायु गुणस्तर सूचकाङ्क ३०० नाघेमा आपतकालीन अवस्था मानेर पूर्वनिर्धारित कार्यविधिअनुसार प्रतिकार्य सञ्चालन गरिने मस्यौदामा उल्लेख छ ।

कार्ययोजनामा केही काम तत्काल तथा निरन्तर, केही  महिनाभित्र, केही १ वर्षभित्र र केही २ देखि पाँच वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उदाहरणका लागि वायु गुणस्तर व्यवस्थापन कार्यसमिति ६ महिनाभित्र गठन गर्ने, ३ वर्षभित्र ७ स्थानमा फोहर पुनःप्राप्ति केन्द्र (मटेरियल रिकभरी फ्यासिलिटी) स्थापना गर्ने, ५ वर्षभित्र नयाँ पार्क तथा पकेट पार्क विकास गर्ने र २ देखि ५ वर्षभित्र घरभित्रको वायु गुणस्तर सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने मस्यौदामा उल्लेख छ । 

कार्ययोजना कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागलाई नेतृत्वदायी जिम्मेवारी दिइएको छ भने महानगरपालिकाका विभिन्न विभाग र ३२ वटै वडा कार्यालयलाई पनि जिम्मेवारी तोकिएको छ । महानगरले कार्ययोजनाको प्रगति नियमित अनुगमन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने प्रस्ताव गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै