हेटौडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बाट संरक्षित वन्यजन्तु हात्तीको दाह्राजस्तो देखिने आखेटोपहारसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले २ किलो ७ सय ग्राम तौलको हात्तीको दाह्राजस्तो देखिने आखेटोपहार एक थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४९ वर्षीय मानबहादुर गोले, वडा नम्बर १० का ७९ वर्षीय चतुरसिं लामा वाईबा र रौतहटका ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्रीवितरण गर्न लागेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।









