ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
सोमबार बिहान निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।









