काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता शुरु भएको छ ।
दिल्लीस्थित हैदरावादहाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता शुरु भएको हो ।
उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।
प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्ने गरी बलियो आर्थिक एजेन्डा अघि सारेका छन् । विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट र स्टार्टअप नेपालको प्राथमिकताका एजेन्डा छन् । नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ । द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् । त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।
यसअघि आजै भारतीय राष्ट्रपति निवासमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर दिइएको थियो ।
प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।









