काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कुरियरमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा दुवै जनाले आपसी मिलेमतोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको र ९ हजार ५०० रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले दुवै जनालाई जनही बिगो ९ हजार ५०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।









