काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीया माल्भिका रावल र ललितपुर महानगरपालिका–२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।
प्रहरीका अनुसार माल्भिकाले अस्ट्रेलिया पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिने भन्दै अर्का एक पीडितबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।









