काठमाडौँ । दानबहादुर कार्कीले दिएको रिटको सुनुवाई जारी रहेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा कार्कीको रिटको पेशी तोकिएको छ र अहिले सुनुवाई जारी रहेको छ ।
यसअघि सोमबार प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण सुनुवाई हुन सकेको थिएन । अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो ।
छलफलका लागि प्रहरी महानिरीक्षक केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको थियो । केसी उपस्थित नभएपछि इजलासले केसीलाई म्याद बुझाएर आज पेशी तोक्न आदेश दिएको थियो ।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत आजको सुनुवाइमा ल्याउन भनिएको थियो । त्यस्तै, सर्वोच्च अदालतले पनि सरकारका नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो ।









