• २०८३ मङ्सिर १० बिहीबार

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सर्लाहीमा सरकारी अभिलेख सच्याएर अर्कै व्यक्तिको नाममा जग्गा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेश कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा आफ्नो नाममा दर्ता गराउने किशोरी धामी थारू र सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस–२(ख) स्थित कित्ता नम्बर ६२ को ११ कट्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहे पनि उनीहरूको विवरण सच्याएर किशोरी धामी थारूको नाममा दर्ता गरिएको थियो। त्यसका लागि नभएका तथ्य खडा गरी सरकारी कागजातमा अनधिकृत हेरफेर गरिएको आयोगको आरोप छ ।

आयोगले संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै