काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षलाई शल्यक्रिया कक्ष तथा सघन उपचार कक्ष (आईसीयू) रहेको भवनसँग जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गर्न लागेको उक्त पुलको कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन् ।
वीर अस्पतालका पुरानो र नयाँ भवनबीच महाबौद्धतर्फ जाने सडक रहेकाले आकस्मिक कक्षमा आएका बिरामीलाई शल्यक्रिया तथा आईसीयूमा लैजान सडक पार गराउनुपर्ने बाध्यता छ । यसले गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार कक्षमा पुर्याउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
यही समस्या समाधान गर्न महानगरपालिकाले दुवै भवनलाई आकाशे पुलमार्फत जोड्न लागेको हो । पुलको दुवैतर्फ अस्पतालको शय्या लैजान मिल्ने गुणस्तरका लिफ्ट राखिनेछन् । यसले आकस्मिक अवस्थाका बिरामीलाई सडक पार नगराई सिधै शल्यक्रिया तथा सघन उपचार कक्षमा पुर्याउन सहज हुनेछ ।
शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले आकस्मिक उपचारमा एक मिलिसेकेन्ड समयको पनि महत्त्व हुने भन्दै बिरामीको जीवन रक्षाका लागि यो संरचना निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार पुल भौतिक संरचना मात्र नभई चिकित्सक, बिरामी र बिरामीका आफन्तको सुरक्षा तथा सहजतासँग जोडिएको योजना हो ।
वीर अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपालका अनुसार ९५० शय्याको अस्पतालको नयाँ भवनमा १५ वटा शल्यक्रिया कक्ष र ८० वटा आईसीयू छन् । उनले आकाशे पुलले अस्पतालका दुई भवनलाई मात्र नभई उपचार सेवालाई समेत जोड्ने बताए ।
निर्माण हुने पुल पूर्ण रूपमा फलामको हुनेछ । पहिलो चरणमा पुल निर्माण र लिफ्ट जडान गरिनेछ भने दोस्रो चरणमा सहरको मौलिक स्वरूप झल्किने गरी बाहिरी सजावट गरिने महानगरपालिकाले जनाएको छ ।
पुल निर्माणका लागि ४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ। निर्माणको जिम्मा सुपर सौगात पीसी द्रव्य जेभीले पाएको छ ।
महानगरपालिकाले २०८३ मंसिर ९ गते निर्माण कार्यादेश दिएको उक्त आयोजना २०८४ कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।









