• २०८१ बैशाख २१ शुक्रबार

विप्लवसहितका विद्रोही समुहसँग वार्ताको तयारीमा सरकार

kharibot

पाल्पा। सरकारको उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वको नेकपासहितका सबै बिद्रोही समुहसँग वार्ताका लागि पहल भइरहेको बताएका छन् ।  

उनले विप्लव समुहलाई वार्ताबाट समाधानमा आउन आग्रह भएको र छिटै नै वार्ता हुने पनि जानकारी दिएका हुन् । उनले मुलुकका सबै विद्रोही समूह र पार्टीसँग वार्ता हुने बताए ।  

प्रेस चौतारी र प्रेस सेन्टरले राखेको संयुक्त कार्यक्रममा पाण्डेले अब नेपालमा हिंसात्मक विद्रोही पक्ष भन्ने नै नरहन पनि बताए ।  उनले सरकारले गम्भीरताकासाथ सबै पक्षसँग सम्वाद गरिरहेको जनाए । असन्तुष्ट पक्षलाई वार्तामा आउन र सबै माग वार्ताबाट नै पुरा हुने पनि बताए ।  

‘विद्रोही गतिविधि गर्ने पार्टी र समूहसँग वार्ताका लागि छलफल चलिरहेको छ । प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा भयो । अब केही दिनमा त्यसको नतिजा आउने छ’ उनले भने ।अहिले नेपालमा हिंसात्मक गतिविधि गर्ने मनसायका २३ वटा समूह रहेको र त्यसमध्ये चार समूहसँग छलफल चलिरहेको उनले बताए ।  

केही समूह हतियार बुझाउन पनि तयार भएको उनले जानकारी दिए । ‘मुलुकमा हिंसात्मक गतिविधि गर्ने मनसायका अन्यको पनि पहिचान गर्ने प्रयासमै छौ । सबैको पहिचान गरी वार्ता हुन्छ’ उनले बताए । सबैभन्दा ठूलो संगठनको रूपमा रहेको विप्लव नेतृत्वको नेकपासँग पनि वार्ताको लागि पहल भइरहेको पाण्डेले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै