• २०८१ बैशाख १५ शनिबार

बाँकेको बजारमा जुम्लाको स्याउ

kharibot

बाँके । स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ ।

अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।

दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ । यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहुले भने, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।”

दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिमले जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताए ।

यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै