• २०८१ बैशाख १५ शनिबार

बाँकेको नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

kharibot

जानकी (बाँके)। बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । 

डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो । तर अहिले अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम रानाले बताए । 

बालसुधार गृहका प्रमुख रानाले भने, “डुडुवास्थित जयेन्दु बालसुधार गृहमा विसं २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् ।

तिनै दुई समूहका बालबन्दीबीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।” 

डुडुवा गाउँपालिका–६ असमानपुरस्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीबीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । 

त्यसपछि उनीहरुलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरुले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न सुरु गरेको रानाको भनाइ छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौबस्ता कारागारको बालसुधार गृहमा कुनै प्रकारको घटना नघटोस् भन्दै सुरक्षासमेत बढाइएको बताए । “अहिले अवस्था सामान्य छ । तर कुनै प्रकारको घटना नघटोस् भनेर सुरक्षा व्यवस्थालाई हामीले थप बलियो बनाएका छौँ”, प्रजिअ पोखरेलले भने, “एक समूहले बिहानदेखि खाना खाएका थिएनन् । उनीहरुलाई खाना खुवाउने सहमतिमा सुरक्षाकर्मीभित्र पसेका छन् । सोही क्रममा बालबन्दीको अवस्था बुझ्नेक्रम जारी छ ।”

नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्याहाँका चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ ।

क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् ।

उक्त स्थानमा हाल पर्साबाट १५, हेटौंडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै