• २०८१ बैशाख १४ शुक्रबार

नयाँ संविधानसँगै लगानीको लहर

kharibot

चितवन । नयाँ संविधान जारी भएसँगै लगानीको लहर चलेको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा लागेका छन् । उद्योगीले क्षमता विस्तार गरेका छन् । विदेशमा रहेका विदेशी लगानीकर्तासहित नेपाल फर्किएर लगानी गर्ने क्रम शुरु भएको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ । संविधान जारी भएर स्थिर सरकार बनेसँगै लगानीको वातावरण तयार भएको हो । बन्द हडताल अन्त्य भएको छ । कलकारखानामा मजदूरका उठ्ने गरेका समस्या धेरै हदसम्म हल भएको छ । चौतर्फी सकारात्मक वातावरण बनेसँगै लगानीको वातावरण सिर्जना भएको हो ।

कर, भन्सारजस्ता निकायमा उत्पादनमूलक क्षेत्रमा केही समस्या रहेका भए पनि क्रमशः समाधान हुँदै जानेमा लगानीकर्ता विश्वस्त छन् । उद्योग परिसङ्घका उपाध्यक्षसमेत रहेका यहाँका उद्योगी कृष्ण अधिकारी देशैभर लगानीको वातावरण बनेको बताए । अस्थिरता विकासको बाधक रहेको भन्दै उनले अहिले स्वदेशी र विदेशी लगानी निकै थपिएको बताए । पूर्वाधार विकास, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीको बढेको अधिकारीको भनाइ छ ।

उनले भने, “यहाँका उद्योगी क्षमता विस्तार गर्दैछन्, विदेशीले यहाँ लगानी गर्न थालेका छन्, विदेशमा रहेका पनि फर्किएर व्यवसायमा लागेका छन् ।” यद्यपि सबै ऐन, कानून बनी नसकेकाले कतिपय क्षेत्रमा अन्योलता अझै रहेको उनले बताए । उत्पादनमूलक क्षेत्रलाई सरकारले प्राथमिकता दिएमा लगानी अरु बढी थपिने उनको विश्वास छ ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्षसमेत रहनुभएका यहाँका उद्योगी राजन गौतमले उद्योगधन्दा खुल्दै गएको तर सरकारले उद्योगलाई भन्दा व्यापारलाई प्रश्रय दिँदा समस्या भएको बताए । पूँजी भएका र नभएर पनि बैंकले पत्याएका सबैको चाहना अहिले लगानी गर्ने रहेको भन्दै उहाँले अरु थप वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए ।

उनले भने, “विदेशबाट तयारी वस्तु आयात गर्नुभन्दा कच्चा पदार्थ आयात गर्दा धेरै कर तिर्नुपर्ने बाध्यता रहेको छ ।” एकल लगानीभन्दा सामूहिक लगानी गर्ने क्रम बढेको भन्दै गौतमले नीति नियम उत्पादनमूलक क्षेत्रमा बाधक बन्न नहुने बताए । उत्पादनमूलक क्षेत्रमा अझै समस्या रहेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासङ्घका सदस्य रहनुभएका पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले बन्द हडताल नहुनु, स्थायी सरकार बन्नु र ऊर्जाको समस्या हटेकै कारण लगानीको वातावरण बनेको बताए । नयाँ पुस्ता उत्पादनमूलक क्षेत्रमा लागेको भन्दै उनले सरकारले हाल देखिएका साना समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिए ।

पोल्ट्री क्षेत्रमा देशभर नै लगानी बढ्ने क्रम जारी रहेको उनले बताए । व्यवसाय गर्दै आएकाले विस्तार गरेका र नयाँ लगानीकर्ता थपिएको भट्टराईले बताए ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले संविधान जारी भएर कार्यान्वयनको चरणमा आउँदै गर्दा उत्पादनमूलक क्षेत्र र व्यवसायमा लगानी गर्नेहरु थपिएको बताए । स्थिर सरकार बनेसँगै काम गर्ने वातावरण सकारात्मक हुँदै गएको प्रधानको भनाइ छ । जिल्लामा होटल, पोल्ट्री, व्यापार र उत्पादनमूलक उद्योग थपिँदै गएका छन् ।

उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नयाँ संविधान बनेसँगै उत्साहित बनेका उद्योगी अहिलेको ऐन, कानूनका कारण निराश बनेको बताए । तयारी सामानलाई भन्दा कच्चा पदार्थलाई बढी भन्सार लिइँदा उद्योगमा गम्भीर असर परेको उनले बताए ।

प्रशासनिक काममा ब्यहोर्नुपर्ने झन्झट र नमिलेका कर एवं भन्सारका दर सुधार भएमा लगानीकर्ता थप उत्साहित बन्ने दुवाडीले बताए । सरकारले व्यापारलाई प्रश्रय दिएर उत्पादनमूलक उद्योगलाई बेवास्ता गरेजस्तो देखिएको भन्दै उनले तत्काल सुधारका लागि आग्रह गरे । जसले लगानीको वातावरण निरन्तर बढाउने उनले बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष दीपक भट्टराईले पछिल्लो समय नयाँ होटल खोल्ने र पुराना विस्तार गर्ने क्रम ह्वात्तै बढेको बताए । जग्गा किनेर, भाडामा लिएर वा होटलनै भाडामा लिएर सञ्चालन गर्ने पनि थपिएको भट्टराईको भनाइ छ ।

उनले भने, “सन् २०२० सम्ममा नेपालमा पर्यटक अत्याधिक बढ्ने अपेक्षा गरिएको छ । जसका कारण होटल खोल्ने क्रम बढेको हो ।” नयाँ संविधानसँगै बनेको दुई तिहाइको सरकारले उत्पादनमूलक क्षेत्रमा नीतिगतरुपमा देखिएका समस्यालाई समाधान गर्ने हो भने लगानीकर्ता थप उत्साहित हुने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै