• २०८१ बैशाख १४ शुक्रबार

नेकपा नेता शर्माद्वारा कर्णाली प्रदेश सचिव पद अस्वीकार

kharibot

जाजरकोट।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेश कमिटी सचिव पद अस्वीकार गरेका छन्। आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको बताएका छन्। 

शुक्रबारको नेकपा सचिवालय बैठकले सात प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लगाएको थियो। दुई पार्टी एकीकरणपछि पहिलो पटक सबै प्रदेशमा जिम्मेवारी तोकिएको हो।

शर्मा तत्कालीन एकीकृत माओवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। पार्टी फुटपछि नेकपाको वैद्य समूहमा रहेका शर्मा रामबहादुर थापासँग एकीकृत माओवादीमा फर्किएका नेता हुन् । उनी तत्कालीन माओवादीका स्थायी समिति सदस्य  हुन्। पार्टी एकीकरणपछि उनी नेकपाका केन्द्रीय सदस्य छन्। 

२०६४ सालमा तत्कालीन माओवादीको तर्फबाट समानुपातिक सांसद  बनेका शर्मा मुख्यमन्त्रीको दाबेदार थिए तर टिकट नपाएपछि उनले पार्टीमा असन्तुष्टि जनाउँदै आएका थिए।

कर्णाली प्रदेश अध्यक्षमा हुम्लाका पूर्वएमालेका नेता गोरख बोगटीलाई जिम्मेवारी दिइएको छ। बोगटी भन्दा शर्मा सिनियर हुन्। बोगटी पुर्वसांसद तथा तत्कालीन एमालेका केन्द्रीय सदस्य हुन्। 

कर्णालीको इन्चार्जमा तत्कालीन माओवादी नेता जनार्दन शर्मा र सहइन्चार्जमा तत्कालीन एमाले नेता यमलाल कँडेललाई तोकिएको छ।  इन्चार्ज तत्कालीन माओवादीको भागमा परेपछि अध्यक्ष तत्कालीन एमालेको भागमा परेको हो। नेतृत्व तहले पटक पटक आश्वासन दिने तर जिम्मेवारी नदिने, अध्यक्ष भएको व्यक्तिलाई अपमानित हुने गरी सचिवमा राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। 

‘मलाई तोकिएको भनिएको जिम्मेवारीमा म बस्दिन’, उनले भने। उनका भाइ इन्द्रलाल र बहिनी ममताले जनयुद्धमा ज्यान गुमाएका थिए। भाइ रामदीप आचार्य नेकपाको केन्द्रीय समिति सदस्य छन्।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै