Skip This

नेपालमा लगभग पाँच प्रतिशत मात्रै गुणस्तरीय पर्यटक आउँछन् : टान प्रमुख दाहाल

खरीबोट

टान अध्यक्ष नवराज दाहाल

पदयात्रा व्यवसायीहरुको छाता संगठन हो ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) । यो नेपालको पदयात्रा पर्यटन व्यवसायीको लागि काम गर्दै आएको संस्था हो । १७ सयभन्दा बढी व्यक्ति टानमा सदस्य रहेका छन् । टानले नेपालको पर्यटन प्रवद्र्धन गर्ने र विशेषतः पर्वतारोहणसँग सम्बन्धित पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरुको हकहितको लागि काम गर्छ । यही क्षेत्रसँग जोडिएका विविध विषय र नेपाली पर्यटन क्षेत्रको अवस्थाबारे उक्त संस्थाका प्रमुख नवराज दाहालसँग खरीबोटकी सकला दवाडीले गरेको कुराकानीको सम्पादित अंश : 

टानले पदयात्रा पर्यटनमा के कस्ता कामहरु गर्दै आएको छ ? 

टानले नयाँ नयाँ पदयात्राको खोजी गर्ने, वैकल्पिक पदमार्गको खोजी गर्ने, पर्यटन व्यवसायी तथा विदेशीहरुको लागि सहज हुने खालको नीतिनियम बनाउनको लागि सुझाव दिने, पर्यटन मन्त्रालय तथा विभागमा विभिन्न खालको पहलहरु राख्ने, नेपालमा धेरै गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्ने जस्ता कामहरु गर्दै आएको छ । त्यस्तै विभिन्न देशमा हुने ट्राभल फेयरहरुमा आफ्ना मेम्बर (सदस्य)हरुलाई सहभागी गराउन कोअर्डिनेशन (सहयोग) गर्ने जस्ता कामहरु पनि गर्दै आएको छ ।  यसबाहेक धेरैभन्दा धेरै पर्वतारोहणसँग सम्बन्धित पर्यटकहरु ल्याउन नीतिगत र पूर्वाधार विकासका कुराहरुमा समेत यस संस्थाले पहलकदमी गर्दै आएको छ । 

पछिल्लो समय तीनैवटा तहबाट शुल्क लिने गरेको भन्ने आएको छ, खासमा के हो ? 

देश अहिले संघीयतामा गएको छ । हिजोदेखि कार्यान्वयन भइरहेको पोलिसी (नीति)ले काम गर्न नसक्ने अवस्था छ । नयाँ पोलिसी आएको छैन । तर हाम्रो संविधानले कहाँ–कहाँ के–के भनेको छ भने स्थानीय सरकारले पनि पर्यटन शुल्क लिन पाउने, प्रदेशमा लिन पाउने, संघमा लिने यस्तो खालको भनिएको छ । पर्यटन पोलिसी आएको छैन, त्यसो भनिएको छ । पर्यटकहरुले तिर्नुपरेको छ, यो अन्योल देखिएको छ अहिले । यसबारे हामीले छलफल गरेका छौं, सुझाव दिएका छौं । यो एकद्वार प्रणालीबाट हुनुपर्छ भनेका छौँ । तर कार्यान्वयन भएको छैन । 

शुल्कको कुरा एकातिर छ, योसहित अन्य यस क्षेत्रसँग सम्बन्धित समस्या समाधानको लागि सरकारसँग के कस्ता कुराहरु उठाउनुभएको छ ? 

हामीले खासगरी टे«किङ व्यवसायसँग सम्बन्धित र विशेष ध्यान दिनुपर्ने कुराहरु उठाएका छौँ । त्यसमा पूर्वाधार विकास, भूकम्पले क्षति पुर्याएको सम्पदाको पुनर्निर्माण, संविधानको कार्यान्वयन र प्रमोसन पर्दछन् । अझ बुझिने गरी भन्दा नेपालमा धेरै पर्यटकहरु ल्याउन, धेरै आम्दानी गराउन र गन्तव्य सुरक्षित बनाउन पूर्वाधारको विकासमा विशेष ध्यान दिनुपर्यो भनेका छौँ । यसमा एयरपोर्ट सुधारको कुरा, रोडहरुको कालोपत्रे गर्ने कुराहरु पनि पर्छन् । जस्तो सडकअवस्थाको कारण पोखरा, चितवन जान धेरै समय पर्यटकले खर्चिनुपर्छ । यसको सुधार हुनुपर्यो । सहज र सुलभ तरिकाले पर्यटकलाई गन्तव्यमा पुर्याउनुपर्यो । 

अर्को कुरा भूकम्पपछि थुप्रै सम्पदाहरु ध्वस्त भएका छन् । त्यसको पुनर्निर्माण छिटो गर्नुपर्यो । विभिन्न ट्रेकिङ एरियामा ट्रेकिङ ट्रायलहरु ध्वस्त भएका छन, पुलहरु भत्किएका छन, पर्यटकहरुले त्यहाँ पदयात्रा गर्नसकेका छैनन् । त्यसको छिटोभन्दा छिटो पुनर्निर्माण गर्नुपर्यो ।  

अनि नीतिगत सुधारका कुरा नि ? 

हो, नीतिगत सुधार पनि गर्न आवश्यक छ । अहिले संविधान कार्यान्वयनको अवस्थामा छ । देश संघीय संरचनामा गएको छ । अब नयाँ पर्यटन पोलिसी ल्याउनुपर्छ । पर्यटन व्यवसायीको हितमा र पर्यटकले सुविधाजनक रुपमा पदयात्रा सम्पन्न गर्नसक्ने वातावरण सिर्जना हुने खालको पर्यटन पोलिसी ल्याउनुपर्यो । पर्यटन भिसाबारे हामीले सोच्नैपर्ने भएको छ । हिजो १५ दिन, ३० दिन र ९० दिनको भिसा थियो । हामी भन्छौ— नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउनुपर्छ । नेपाललाई केन्द्र बनाएर हरेक पर्यटकहरु २÷४ दिन नेपाल आएर भारत जाने, चीन जाने वातावरण बनाउनुपर्छ । 

एउटाचाहिँ ट्रान्जिट खालको भिसा दिनुपर्छ ।  जस्तै ७ दिनको भिसा दिने हो कि १० दिनको भिसा दिने हो, न्यूनतम मूल्यमा दिने महङ्गो होइन, सस्तो बनाउनुपर्छ । एकैचोटि ३ महिनाको भिसा दिनुपर्छ । लामो भिसा भयो भने उनीहरु नेपाल आउँछन् ।  ९० दिनको एकैचोटि लामो भिसा दिने । १÷२ दिन नेपाल बस्छन् र भारत घुमेर फेरि आउँछन् । नेपालमा ट्रेकिङ गरेर चाइना गएर फेरि नेपाल आएर फेरि जान सक्छन् नि ! यसो हुँदा पर्यटकले धेरैभन्दा धेरै खर्च पनि गर्दछन् ।  

नेपाली ट्रेकिङ क्षेत्र कतिको पर्यटकमैत्री छ ? 

यसमा कतिपय कुराहरु अलिक सुधार्नुपर्छजस्तो लाग्छ । जस्तो केही निषेधित क्षेत्रहरु छन्, जहाँ पर्यटक जानलाई निषेध गरिएको छ । किन निषेध गर्नुपर्यो ? त्यस्तै अर्को निर्देशित र नियन्त्रित क्षेत्र भन्ने छ  ।  जहाँ पर्यटकहरुले धेरै मूल्य तिरेर ट्रेकिङ परमिट बनाउनुपर्छ । त्यो ट्रेकिङ परमिटको मूल्य घटाइदिनुपर्छ । जस्तो उदाहरण दिन्छु, मुस्ताङ ट्रेकिङ जानको लागि अहिले पर्यटकले कम्तीमा १० दिनको परमिट बनाउनुपर्छ । २ जना हुनैपर्छ । १० दिनको परमिटको शुल्क प्रतिव्यक्ति ५ सय डलर पर्दछ । यही स्थितिमा नराखौं । मुस्ताङ अहिले ३÷४ दिनमा पुगेर आउन सकिन्छ । लोमानथाङसम्म बाटो पुगिसकेको छ । १ जना पनि सजिलै जान सकिन्छ । सुरक्षाको समस्या छैन । एक जनाले पनि जान पाउनुपर्यो ।

१० दिनको परमिट किन ? जति दिन जाने हो त्यति दिनको परमिट पाउनुपर्यो । ५ सय डलर किन तिर्ने ? ५० डलर, १०० डलर, १५० डलर भयो भने धेरै पर्यटक जान्छन् । धेरैभन्दा धेरै पर्यटक मुस्ताङ गए भने नेपालले आम्दानी गर्छ, त्यहाँको स्थानीयले आम्दानी गर्छन् । त्यही पर्यटक मुस्ताङको जस्तै अर्को ठाउँ लदाकमा जान्छ । लदाकमा सस्तो छ । त्यसकारण, मुस्ताङ, डोल्पालगायतका निदेर्षित क्षेत्रको शुल्क घटाइदिनुपर्छ । 

नेपाली पर्यटनको प्रचारप्रसारको अवस्था कस्तो छ ? 

सन्तोषजनक छैन । जति पनि प्रवद्र्धन नेपालको पर्यटनबारे भएको छ, त्यो अपुग मात्र नभएर परम्परागत रुपमा र कर्मकाण्डी शैलीको हुने गरेको छ । हामी डिजिटलको युगमा छौ । डिजिटल युगकै अवधारणाअनुसार पर्यटनको बजारीकरण गर्नुपर्यो । अहिले पनि नेपाल कहाँ हो भनेर नचिन्ने धेरै देशका मानिसहरु अन्योलमा छन् । नेपाल यति प्रचुर मात्रामा पर्यटनको सम्भावना बोकेको मुलुक छ । भ्रमणको लागि योग्य विश्वको दशौँ नम्बरमा हामी  छौं । तर पनि नेपाल भ्रमण गर्नलाई उत्पे्ररित गर्न सकेका छैनौं ।  

त्यसो भए पर्यटन प्रवद्र्धन गर्न के गर्नुपर्छ त ? 

पहिलो कुरा त नेपाल पर्यटन बोर्डले अलि गम्भीरता देखाउनुपर्छ किनभने पीपीपीको अवधारणाअनुसार स्थापित यो संस्था राज्यको मात्रै पनि होइन, निजी क्षेत्रको मात्रै पनि होइन । यो संयुक्त रुपमा नै स्थापित भएको हो । सबैभन्दा ठूलो जिम्मेवारी यसले वहन गर्नुपर्छ । विभिन्न देशमा ट्राभल ट्रेड फेयरहरु हुन्छन् ।  यसमा व्यवसायीहरुलाई सहभागी गराउने, अन्तर्राष्ट्रिय रुपमा स्थापित मिडियाहरु बीबीसी सीएनएनलगायतका विभिन्न खालका मिडियाहरुबाट नेपालको पर्यटनको प्रचार गराउने । विभिन्न देशको टेलिभिजनमा नेपालसम्बन्धी डकुमेन्ट्री प्रसारण गराउने काम यसले गर्नुपर्छ । अझ अहिले त अनलाइनलाई अलि बढी महत्व दिनु प्रभावकारी हुन्छ । बोर्डलाई टान, हान, नारा, नाट्टालगायतका हामीले नेतृत्व गरेका यी संस्थाहरु सहयोग गर्न तयार छन् । समन्वय गर्छौँ । योजनाबद्ध गरेर अगाडि बढौँ न । निजी क्षेत्र साथ दिन तयार छन् ।  

यस क्षेत्रका सम्भावना, चुनौती र अवसरलाई कसरी लिनुभएको छ ? 

नेपालल पर्यटनबाट जति लाभ लिनुपर्ने हो, त्यति लिन सकेको छैन । धेरै सम्भावनाहरु छन् । प्रकृतिले मनमोहक पर्यटकीय वातावरण उपलब्ध गराए पनि हामीले त्यसको सदुपयोग गर्न सकेका छैनौँ, त्यसको भरपूर उपयोग गर्नुपर्ने चुनौती छ । अर्को कुरा देशमा स्थायी सरकार र संविधानसभाबाट संविधान बनेको अवस्था छ । यसको मतलब राजनीतिक स्थायित्वको प्रश्न अब उठाउनुपर्दैन । यो भनेको पर्यटन क्षेत्रको लागि ठूलो अवसर हो । यस्तो मौका जुटेको अवस्थामा बोलेर मात्रै भएन काम गरेर देखाउने चुनौती छ, नेता तथा कर्मचारीलाई । यस क्षेत्रको लागि पर्याप्त बजेट, देखिने गरी कामहरु हुनुपर्यो । पुलपुलेसा, विमानस्थल, सडक, होटल लगायतका पूर्वाधारको विकास÷निर्माण र विस्तार हुँदा मात्र यस क्षेत्रको उन्नयन हुन्छ । सगरमाथा, लुम्बिनी, स्वयम्भूजस्ता पर्यटकीय क्षेत्रहरु हुनु हाम्रो लागि ठूलो सम्भावनाको कुरा हो । यसलाई साकार पार्न पर्यटक आउने देशसँग सिधा हवाइ कनेक्टिभिटी गर्नुपर्यो । यी कुराहरुमा सरकार चलाउनेहरु चनाखो हुनुपर्छ ।

तपाईंले औँल्याउनुभएका समस्या, चुनौतीहरुको समाधानमा निजी क्षेत्रको भूमिकाचाहिँ कस्तो हुन्छ ?   

हेर्नुस्, राज्यले हिम्मत गर्नुपर्यो, सही योजना बनाउनुपर्यो । त्यसका लागि निजी क्षेत्रहरुको साथ पनि आवश्यक पर्छ । त्यस्तै हामी निजी क्षेत्रका संघ÷संस्थाहरु पनि एकताबद्ध हुनुपर्छ । व्यवसायीहरुको बुझाइमा पनि एकरुपता हुनुपर्यो । पर्यटनलाई छुट्याइने बजेटमा वृद्धि गरिनुपर्छ । हामीलाई पनि राज्यले सहयोगीका रुपमा लिन्छ भने हामी मिलेर ती समस्या समाधान गर्न सक्छौँ नि । 

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई कसरी लिनुभएको छ ? 

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ, यो राम्रो कुरा हो । संख्या ल्याउन ठूलो कुरा छैन । त्यो २० लाख पर्यटक ल्याउन सकिन्छ । तर हामीले संख्या मात्र ल्याएर केही हुनेवाला छैन । हामीले गुणस्तरको पर्यटक ल्याउनुपर्यो । धेरैभन्दा धेरै खर्च गर्ने, खर्च गर्दा उसले सुविधा पनि पाउने हुनुपर्छ । सुविधामा वृद्धि गर्नुपर्छ । आएको पर्यटक लामो समय नेपाल बस्यो भने त्यो गुणस्तरको पर्यटक हो ।  

नेपालमा गुणस्तरीय पर्यटक कति आउँछन् ?

नेपालमा लगभग पाँच प्रतिशत मात्रै गुणस्तरीय पर्यटक आउँछन् । गुणस्तरमा बदल्न धेरै सुविधाहरु तयार गर्न सक्नुपर्दछ, जुन सकिएको छैन । राम्रो होटल, बाटोघाटो, सेवासुविधाहरुले फरक पार्छ नि । फेरि हामीले पनि गुणस्तरीय दक्ष जनशक्ति तयार गर्नुपर्छ । साधारण अंग्रेजी बोल्ने र बाटो देखेको भरले मात्र गाइड हुन सक्दैन ।  तालिम प्राप्त हुनुपर्छ, भोलि दुर्घटना हुन सक्छ । सबैलाई समाधान गर्न सक्ने हुनुपर्छ । 

त्यस्तै, नेपालमा २ सिजनको मात्र प्रचारप्रसार गरिएको छ, त्यो गलत हो । नेपालमा सबै मौसममा पर्यटन आउन सक्ने वातावरण बन्नुपर्छ ।

सम्बन्धित समाचार

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो  : राम लोहनी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको अध्यापन गरिरहेका राम लोहनी एक बौद्धिक चिन्तक एवम् कुशल समीक्षकका रुपमा परिचित छन् | कला, साहित्य, समाज र भाषाक्षेत्रमा केन्द्रित रहेर उनका विचार, समीक्षा र समालोचनाहरू

मसँगै मेरो देश चिनिने अवसर पायो : उमा बादी

काठमाडौं । विकासोन्मुख देश नेपालको अविकसित ठाउँ हो सुदूरपश्चिम । झन् त्यहाँको एक समुदाय जसलाई समाजले राम्रो दृष्टिले हेर्दैन, त्यही समुदायकी एक महिला हुन् उमा बादी । उनैलाई प्रसिद्ध अन्तर्राष्ट्रिय

एड्स अब मृत्युको पर्याय रहेन, न्यून क्षतिका लागि धेरै उपचार विधि आइसक्यो : डा. शाक्य

विगत एक दशकयता निरन्तर रुपमा एचआईभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआईभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेका तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । हरेक डिसेम्बर महिनाको पहिलो दिन

'किताब नपढी गतिलो लेखक हुन सम्भव छैन'

२०७४ सालमा पहिलो उपन्यास पैताला’ सार्वजनिक भएपछि लेखक गनेस पौडेल रोचक विषयवस्तु र पृथक् शैलीका कारण समीक्षक तथा पाठकहरूबीच लोकप्रिय बन्न पुगे । लामो समयदेखि अखबारी लेखनमा समेत आबद्ध रहँदै


z