• २०८१ बैशाख १४ शुक्रबार

‘सडककी पाइलट’ मखमली !

kharibot

काठमाडौँ। २०२८ सालमा नुवाकोटमा बुबा छबु र आमा शान्ति लामाको कान्छी छोरी भएर जन्मिएकी मखमली गुरुङको पारिवारिक अवस्था नाजुक थियो । सोही कारण उनको आफ्नै बाल्यकाल गतिलो हुने कुरै भएन । बा, आमाको जागिर थिएन, खेतीपाती गरेर खान पुग्ने अवस्था समेत थिएन ।

दुःखकष्ट झेलेरै हुर्किइन् उनी । उनको २०४८ सालमा विवाह भयो तर जन्मदेखि नै झेलेको कठिन आर्थिक अवस्थाले अझै छोडेन । जहिले पनि खान र लाउनकै समस्या भएपछि श्रीमानसहित मखमली काठमाडौँ आइन् । उनीसँग ठूलो इच्छा र चाहना थिएन, केवल बिहान बेलुकाको छाक टार्ने बाहेक । राजधानी आएपछि उनले दुःखसँग जुध्ने तरिका, जीवनसँग गर्ने संघर्ष भने बुझ्न थालिन् । तर पनि जागिर उनको लागि ‘आकाशको फल आँखा तरी मर्’जस्तै भइरह्यो । जागिरको कुनै मेलोमेसो नपाए पनि उनी त्यसकै मृगतृष्णामा भौँतारिरहिन् ।

हुन त उनको श्रीमान नेपाल प्रहरीमा कार्यरत थिए तर श्रीमानश्रीमतीमात्र नभई बालबच्चाको समेत भविष्यको ख्याल गर्न त्यो मात्रै पर्याप्त नहुने भएकाले उनी पनि जागिरकै खोजीमा लागिरहिन् । यही सिलसिलामा आफूजस्तै दिदीबहिनीहरुले राजधानीको सडकमा ट्याम्पो कुदाएको उनले देखिन् । त्यो दृश्यले उनलाई हौसला दियो । उनलाई लाग्यो – यो त मैले पनि त चलाउन सक्छु नि !

त्यसपछि ट्याम्पो सिकेको उनी सुनाउँछिन् । 

दुई वर्षमै ठूलो गाडीको लाइसेन्स  

जब टेम्पो सिकिन्, त्यसको दुई वर्षमा उनले ठूलै गाडीको लाइसेन्स पाइन् । मिहिनेत गर्दै गए सफलता टाढाको कुरो रहेनछ भन्ने पाठ सिकेकी मखमली जीवनमा केही गर्न चाहनेहरुका लागि अहिले प्रेरणाको स्रोत नै हुन् । उनी भन्छिन्, ‘टेम्पो सिक्दै मैले ठूलो गाडीको लाइसेन्स लिन्छु नै भन्ने सोचेको थिएँ, आखिर त्यो पूरा पनि भयो ।’ टेम्पो सिकेको २ वर्ष उनका लागि मिहिनेत पोख्नैपर्ने समय थियो । सोही कारण उनले १० महिना टेम्पो चलाएपछि स्वयम्भू यातायातमा सहचालक बनिन् र काम गरिन् । त्यसपछि उनी सहचालकबाट चालक बन्न सफल भएकी हुन् । 

नेपाली समाज न हो । महिला केही कुरामा अघि बढे कुरा काट्नेहरु  देखापरिहाल्छन् । मखमलीको कुरा काट्नेहरु पनि भेटिए तर त्यतापट्टि उनले ध्यान नै दिइनन् । उनी भन्छिन्, ‘अरु कसैले कुरा काट्दैमा हार मानेको भए आज यो स्थानसम्म आइपुग्न सक्ने थिइनँ ।’ 

मखमलीले भनेजस्तै यदि काम गर्ने मान्छे असल र इमानदार छ भने यातायात पेसालाई कसरी गलत मान्न सकिन्छ ?  

सुरुमा स्वयम्भू यातायातमा लगभग १५ जना दिदीबहिनीहरु सहचालकको रुपमा काम गर्थे त्यसकारण मखमलीलाई पनि केही सहज अनुभव हुन्थ्यो तर छ महिना पनि नहुँदै उनी एक्लै भइन् । सबैले छोडेर लाखापाखा भए । तर उनलाई भने चालक बनिछाड्ने धोको थियो, सोही धोकोले पूरा भयो उनको लाइसेन्स पाउने चाहना । 

सफलता चुमेपछि साथ गुमाउँदा 

अझैसम्म चेलीबेटीले यातायातजस्तो क्षेत्रमा काम गरेको हेर्दा नाक खुम्च्याउने चलन छ भने त्यतिबेला उनलाई मानिसले राम्रो नजरले हेर्ने कुरै भएन । लाइसेन्स पाउने स्थितिसम्म आइपुग्दा उनलाई न घरपरिवारले सपोर्ट गरे, न त माइतीले नै । उल्टै श्रीमानले छोडिदिए । यतिसम्म कि छोराको मृत्यु भएर मखमली शोकमा डुबेको समयमा समेत उनको श्रीमान उनलाई भेट्न आएनन् । मखमलीले भनेजस्तै यदि काम गर्ने मान्छे असल र इमानदार छ भने यातायात पेसालाई कसरी गलत मान्न सकिन्छ ?  
दुई छोरामध्ये एउटालाई गुमाउनुपरे पनि अहिले उनी अर्को छोरा र परिवारको लागि काम गर्छिन् । सामान्य काम गर्ने भए पनि छोरालाई डाक्टर बनाउने ठूलो सपना थियो उनको तर छोराले कम्प्युटर साइन्स रोजेकाले रोजेकै विषय पढाइरहेको उनी सुनाउँछिन् । 

‘सडककी पाइलट’

आफ्नै बलबुतोले ‘सडककी पाइलट’ बनेकी मखमली २०६३ देखि त्यही सडकमा संघर्ष गरिरहेकी छिन् । मान्छेको व्यवहारअनुसारको जवाफ फर्काउनसक्ने क्षमताकी उनले नराम्रो व्यवहार नभोगेकी हैनन् तर आफू इमान्दार भएकाले कसैले केही गर्न नसकेको उनको भनाइ छ । अहिले यातायात क्षेत्रमा धेरै महिला चालक तथा सहचालकहरु सक्रिय छन्, त्यो देख्दा उनलाई कता कता खुसी महसुस हुने उनले सुनाइन् । आफूहरु पुरुषजस्तै जस्तो काम पनि गर्नसक्ने आँट रहेको बताउँदै उनी भन्छिन्, ‘महिलाहरु पनि अगाडि बढ्दैछन्, उड्नेमा होस् कि गुड्नेमा !’

सबै विदेश जाँदा मुरी धान फल्ने खेत बाँझै रहेको, घर गाउँ शून्य रहेको देखेकी उनी देश छोडेर हिँड्न नहुने विचार पस्किन्छिन् । 

उनलाई चालकको सिटमा देख्नेहरु सबै कहाँ उस्तै हुन्छन् र ! उनको कर्मको प्रशंसा गर्नेहरुको कमी छैन । कतिले छोरी भएर बहादुरको काम गर्यो भन्दै उनको प्रशंसा गरे । स्वयम्भू यातायात लिएर धुलीखेल पुग्दा स्थानीयबाट उनी सम्मानित नै भएकी थिइन् । यी क्षणहरुले दिएको खुसी उनले भुलेकी छैनन् । यो काममा होसियारी र इमानदारिता दुवै उत्तिकै महत्वपूर्ण हुने उनको ठम्याइ छ । 

अमेरिकी दूतावासको गाडी चलाउँदा

६३ सालबाट सक्रिय रुपमा गाडी चलाउँदै आएकी मखमलीले साढे ६ वर्ष अमेरिकी दूतावासको समेत गाडी चलाइन् । अशोक लेल्याण्ड, टाटा, आइचर,  टर्बोदेखि जम्बो हाइससम्म र बलेरो, पजेरोदेखि ल्याण्डक्रुजरसम्म गाडी चलाएको अनुभव बटुलिसकेकी छिन् उनले । 

मासिक ३० हजार बचत 

एक महिनायता चक्रपथ परिक्रमा हुँदै बनेपा धुलीखेलसम्म चल्ने मयुर यातायात सक्रिय छिन् उनी  । उनले उपत्यकाबाहिरका धेरै जिल्लामा समेत  गाडी चलाइसकेकी उनले बस चलाउँदा ३० हजारसम्म मासिक बचत गर्न सकिने बताइन् । सानैदेखि दुःख बुझेकी उनी चालक र सहचालकबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउँछिन् । आफूले सहचालकलाई सधैँ राम्रो व्यवहार गर्ने गरेको उनले सुनाइन् । 

टर्बोदेखि जम्बो हाइससम्म र बलेरो, पजेरोदेखि ल्याण्डक्रुजरसम्म गाडी चलाएको अनुभव बटुलिसकेकी छिन् उनले । 

छोराको चाहना आफ्नो सपना 

उनले अनेक दुःख झेलेर सिकेको सीप अब उनको सपना पूरा गर्ने हतियार बनेको छ । छोराको चाहना पूरा गर्नु उनको कर्तव्य त छँदै छ, सपना पनि हो उनको । त्यस्तै अब उनलाई सार्वजनिक भन्दा कुनै अफिसको गाडी चलाउन पाए हुन्थ्यो जस्तो लाग्छ । सकुन्जेल गाडीको स्टेरिङ घुमाउने लक्ष्य लिएकी मखमली उमेर ढल्किँदै गएकाले धेरै खट्न नपर्ने गरी कुनै अफिसको गाडी चलाउने इच्छा रहेको बताउँछिन् । अत्यधिक समय खट्नुपर्दा फुर्सद र आराम मिल्ने जागिर खान मन लागेको बताउँछिन् । 

वैदेशिक रोजगारीमा जानुहुँदैन 

मयुर यातायात हाँकिरहेकी ‘सडककी पाइलट’ मखमली भर्खर केही गर्छु भन्ने उमेर भएकाहरुलाई विदेश नजान सुझाव दिन्छिन् । जति बगाउनुपरे पनि रगत र पसिना आफ्नै देशमा बगाए सुन फलाउन सकिने उनको बुझाइ छ । 

सबै विदेश जाँदा मुरी धान फल्ने खेत बाँझै रहेको, घर गाउँ शून्य रहेको देखेकी उनी देश छोडेर हिँड्न नहुने विचार पस्किन्छिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै