• २०८१ बैशाख १५ शनिबार

भक्तपुरमा ३ सय बर्ष पुरानो महाकाली नाच सम्पन्न

kharibot

भक्तपुर। विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं। ५ र ६ का युवाहरुको सक्रियतामा गत वर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यसवर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् गत मङ्गलबार रातिबाट शुरु भई गएराति गुरुहरुको टोलमा प्रदर्शन गरी नाच सम्पन्न भएको हो । 

महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुलाँखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भई हरेक रात टोल टोलमा गएर प्रदर्शन गरिएको थियो । 

समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले भने, “पूर्णिमादेखि रातिराति सञ्चालन भएको सो नाच हरेकदिन साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा प्रदर्शन गरिएकोे थियो ।” दथुटोल, दिगुटोल, गुङ्गचिभा टोल, चपाचो, पोवु टोल, भुलाँखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलमा प्रदर्शन गर्दै सो नाच बालकुमारी पुगेको थियो । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच नौ देखि १३ तालमा नाचिने गरेको बताए । उनले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाचलाई जोगाउन सजिलो भएको बताए । 

यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरू नाचसँग नमिल्ने ताल भएको बताउँदै उनले नाचमा देवी एक, महालक्ष्मी एक, बेता चार, भूत भैरव दुई, सिंह एक, कवाँ दुई, ख्या दुई, माक गरी १५ जनाले विभिन्न देवी देवताको रुपमा नाच्ने गरेको बताए।  

यो नाचमा महाकालीको रुपमा २३ वर्षीय सुसन दै श्रेष्ठ, देवीका रुपमा १९ वर्षीय सुजन दै श्रेष्ठ, महालक्ष्मीका रुपमा २३ वर्षीय राजु झांग श्रेष्ठ, सिंहका रुपमा २१ वर्षीय सागरन्हुछे श्रेष्ठ, बेटाका रुपमा १७ वर्षीय रसिक काः श्रेष्ठ, १७ वर्षीय सनिस प्रजापति, १६ वर्षीय संञ्जिव तामाङ, १६ वर्षीय विकास रञ्जितकारले देवगणका रुपमा नाचेका थिए । 

त्यसैगरी भूत भैरवका रुपमा २१ वर्षीय सिजल श्रेष्ठ, १७ वर्षीय कवि बोडे श्रेष्ठ, कवाँका रुपमा १५ वर्षीय देव पिला श्रेष्ठ, १२ वर्षीय समिप पिला श्रेष्ठ, ख्याः का रुपमा १९ वर्षीय सन्देश हामो श्रेष्ठ, १८ वर्षीय अमेश नकर्मी, माकका रुपमा १० वर्षीय दिलेश ध्याको दुवा श्रेष्ठले देवगणका रुपमा नाच प्रदर्शन गरेका थिए । 

नाच र बाजाका गुरुहरु केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हिराकाजी लामा श्रेष्ठ, रामसुन्दर बासी श्रेष्ठ, राजकृष्ण दे श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका थिए । बाजामा भने मुहाली बजाउनेको अभाव रहेको छ । 

बाजाको तालसँगै विभिन्नस्वरुपमा नाचिने यो नाचमा देवी र दानवको युद्धलाई समेत चित्रण गरिएको बताउँदै गुरु श्रेष्ठले लगातार १३ तालमा यो नचाउँदा रात बित्ने भएकाले सबै टोलमा सबै तालमा नचाउन भने नसकिने जानकारी दिए । 

गुरु हिराकाजी लामा श्रेष्ठले परापूर्वकालमा यो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै देवताका रुपमा नाच्नेहरुमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउछन्।  

समितिका अध्यक्ष श्रेष्ठले यसवर्ष नाचका लागि आवश्यक मुकुट, पोषाकलगायत सामग्री किनेको बताउँदै नाचमा करीब रु आठ लाख खर्च भएको जानकारी दिए । उनले हरेक वर्ष नाच प्रदर्शन गरिने पनि बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै