देवीलाई चढाइएको बलीलाई हिंसा मानिँदैन : विदुषी प्रियंवदा काफ्ले

खरीबोट

नेपाली हिन्दूहरुको पर्व दशैँ सुरु भइसकेको छ । परम्परागत रुपमा दशैँ मनाउने चलन नेपाली समाजमा धेरै पहिलेदेखिकै हो । खासगरी आसुरीभावमाथि सत्यको विजयको उत्सवस्वरुप मनाउने गरिए पनि वर्तमान समयमा दशैँ साझा पर्वको रुपमा विकसित हुँदै गएको छ । दशैँको महत्व, परम्परा अनि यसको प्रभावबारे वाल्मीकि क्याम्पसको पुराण र इतिहास विषयकी सहप्राध्यापिका प्रियंवदा काफ्लेसँग खरीबोटकी सकला दवाडीले गरेको कुराकानीको संम्पादित अंश : 

दशैँ मान्ने चलन कसरी सुरु भयो ? 

यो पर्व धेरै पहिलेदेखि मानिआइएको छ । खासगरी देवी भागवतमा नवरात्रको व्रतको विधान पाइन्छ । शरद र वसन्त काल गरी दशैं दुई समयमा मनाउने गरिन्छ । चैत्रे नवरात्र र शारद नवरात्र पनि हुन्छ । 

दशैं मनाउनुको उद्देश्य स्वास्थ्यसँग सम्बन्धित छ । दशैँको समय मौसम परिवर्तनको समय हो । यो बेला शारीरिक रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । त्यसैले त्यो समयमा व्रत गर्नुपर्छ । स्वस्थकर कुरा खाने रोग नलाग्ने मिठा मिठाइहरु चढाउने गरिन्छ । जे पायो त्यही खाँदा अपच हुने र विभिन्न समस्या शरीरमा देखिने गर्छ । आफू कमजोर भएको बेला देवीको आराधना रोग नलागोस् भनेर प्रार्थना गर्ने परम्परा विकास भएका कुराहरु पनि पुराणबाट देखिन्छ । वस्तुतः दशैंमा खाने भन्दा पनि देवीको पूजा गर्ने, आराधना गर्ने भन्ने हो । 

यो प्राचीन कालमै सुरु भएको पर्व हो किनकि पुराणहरुमा नवरात्रको कुरा उल्लेख छ । पुराण जति पुरानो छ, त्यति नै पुरानो छ दशैं पनि । १८ पुराणभित्रकै देवीभागवतलाई महापुराण नमानी उपपुराण पनि मानिएको छ । यो १८ उपपुराणभित्रकै कुरा हो भन्ने देखिन्छ । पुराणहरुकै अनुसार देवीको राक्षससँग युद्ध भएको समय, रामको रावणसँग युद्ध भएको समय, रावण जलाउने पनि चलन छ, परम्परा देखिन्छ । त्यसकारणले गर्दा त्रेता युगदेखि नै दशैँ मान्ने चलन चलिआएको छ । देवीले राक्षस वध गरेको हेर्ने हो भनेदेखि तत् तत् पौराणिक समय तथा आधुनिक समयलाई नहेरी यसलाई शाश्वत रुपमा हेरिन्छ । 

चढाएर उम्रिएको जमरालाई पवित्र जमराको रुपमा लिने गरिन्छ । यसरी पूजा गर्दा उम्रिएको जमरा नै प्रसादको रुपमा लिइयो ।

धार्मिक दृष्टिले हेर्दा यो समयबाट सुरु भयो भनिँदैन तर आधुनिक इतिहासकारहरुले आफ्नै किसिमको कुरा गरेको देखिन्छ । राजाहरुले यसलाई विजय पर्वको रुपमा मनाएको कारणले गर्दा क्षेत्रीहरुले बढी विशेषतः दशैं मनाउने गरेको भनिन्छ ।  विजयको पर्वको रुपमा मान्ने चलन विकास भएको देखिन्छ । 
यो सम्पूर्ण रोगहरु जित्ने पर्व पनि हो । राक्षसी प्रवृत्तिलाई नाश गर्ने, दुर्भावना, दुराचारलाई नाश गर्ने पर्वको रुपमा पनि यसलाई लिइन्छ । दशैं असत् तत्वहरुलाई नाश गर्ने र सत् तत्वहरुलाई उठाउने पर्व हो । सात्विक तत्वहरुलाई बढवा दिने पर्व हो । 

दशैँमा जमरा लगाउने पनि छ, जमराको साइनो दशैँसँग कसरी जोडियो ? 

घटस्थापनाको दिनमा घट(कलश) स्थापना गरिन्छ । कसैले माटोको घट स्थापना गर्छन् भने कसैले सुवर्ण घटस्थापना पनि गर्न सक्नुहुन्छ । घटस्थापनामा कलशसँगै दियो गणेश पनि स्थापना गरिन्छ । मुख्य घट, घटकै वरिपरि चढाइएको जौ, तिलहरु नै पछि उम्रिन्छ, कसैले जमरा अलग्गै टपरीमा राख्ने गर्दछन् । चढाएर उम्रिएको जमरालाई पवित्र जमराको रुपमा लिने गरिन्छ । यसरी पूजा गर्दा उम्रिएको जमरा नै प्रसादको रुपमा लिइयो । त्यो ताजा हुन्छ, अत्यन्तै पवित्र हुन्छ, स्वस्थकर अमृतसमान मानिन्छ । पवित्र वस्तुलाई टाउकोमा सिउरिँदा देवीको आशीर्वाद प्राप्त हुन्छ भन्ने आस्था, परम्परा छ । घटस्थापनापछि सप्तमी तिथिमा फूलपाती भित्र्याउने चलन छ नेपालमा । योचाहिँ गोरखाबाट नुवाकोट हुँदै ल्याउने चलन छ । यसरी ल्याइएको फूलपाती हनुमान ढोकामा भित्र्याउने प्रचलन छ । 

दशैँमा दिइने पशुबलीलाई कसरी लिने ? 

शाकाहारीहरुल बली दिँदा कुष्माण्ड, घोषक र अलाबु, नरिवल बली दिने चलन छ । मांसभक्षीहरुले पशु बली दिन्छन् । मानिसले जे खान्छ, उसको देवतालाई पनि त्यही चढाउनुपर्छ भन्छ शास्त्रले । जसले पूजा आराधना गर्दछन्, तिनीहरुको भोजन के हो ? त्यो भोजन उनले मान्ने देवीदेवताको पनि भोजन हो भन्ने शास्त्रीय मान्यता छ । 

पशुबली भनेको पशुताको बली हो । मानवमा दिव्यगुण आर्जन गरेर पाशविक गुणहरु हटाउँदै जाने पशुता हटाउनुपर्छ भन्ने मान्यता यसमा जोडिएको छ । 

त्यो हिंसा होइन, देवीका अगाडि बली चढाइएका पशुहरुले अभ्यय स्वर्ग प्राप्त गर्छन्, उनीहरु कहिले पनि नाश नहुने स्वर्गमा पुग्छन् । मोक्षप्राप्ति हुन्छ । बली दानको निम्ति विशिष्ट हुन्छ । त्यहाँ मारिएको हिंसा होइन भनेर देवीभागवत शास्त्रले भनेको छ । दशैंमा देवीलाई चढाइएका बलीलाई हिंसा मानिँदैन । यसमा कुमारी पूजाको पनि विधान छ । आफूले जे खान्छ, देवीदेवतालाई पनि त्यही चढाउनुपर्छ । कुखुराको अण्डा पनि चढाउँछन् ।

कुमारीको पूजा किन गरिन्छ ? 

कुमारीहरु सृष्टिका आधार हुन् । देवीका अंश हुन् । देवीकै आराधना गर्ने पर्व भएको कारणले गर्दा धर्म संस्कृति र परम्परामा स्त्रीजातिको अत्यन्तै ठूलो महत्व छ । आदरणीय स्थान छ । त्यो स्थानलाई छायामा पार्नाले, विदेशी संस्कृतिलाई भित्र्याउनाले समाजमा हत्या, हिंसा बलात्कारजस्ता घटनाहरु बढिरहेका छन् ।  

हरेक महिलालाई सम्मान गर्ने परम्परा हिन्दू परम्परा हो । राजनीतिक व्यक्तित्वले अमेरिकामा बलात्कारको घटना बढी हुने भनेको भन्ने हल्ला सुनेको थिएँ । हाम्रो समाजमा त्यतैबाट सिको गरिएको हो । हाम्रो परम्परामा त आदरणीय व्यक्तित्व हुन् नारी । नारीको सम्मान हुन्छ । महिलालाई छोराहरुले आमाजस्तो रुपमा हेर्नुपर्छ । शक्तिको प्रतीक मानिन्छ नारीलाई । 

तपस्वी महिलाहरुको पूजा गरिन्छ ।  दशैंमा पनि नारीकै पूजा गर्ने हो । कन्या नारीस्वरुपा भएकाले पूजा गर्ने हो । दशमीको दिन पूजा हुन्छ देवी सेलाइन्छ । सेलाएपछि मान्यजनबाट टीका लगाई आशीर्वाद लिइन्छ । ठूलालाई मान्ने संस्कारबाट विकास भएको शाश्वत मान्यता हो । 

दशैंमा सेतो र रातो टीका लगाउने प्रचलनचाहिँ कसरी बन्यो ?

धार्मिक रुपमा सेतो टीका सात्विकताको प्रतीक हो । सात्विक, राजस, तामस तीन गुण हुन्छन् । सुरुवाती समयमा सेतै अक्षताले पूजा गरिएको हुनुपर्छ । यो देवीको पूजा भयो देवीचाहिँ मारकाट गर्ने भइन् । महिषासुर वध गर्ने प्रवृत्तिको देवीमा भएकोले वस्त्रहरु रातो चढाउने प्रचलन छ । रातो टीका केमीकलयुक्त खराब रंगको प्रयोग गर्नु अनुचित छ ।  रक्तचन्दन, कुमकुमले रंगाउनुपर्छ ।  बेसारको रचनाले रंगाउनुपर्छ । सद्गुण भएका रंगहरुको प्रयोग गर्नुपर्दछ । 

दशैँमा पशु मार्न नहुने भनी विरोधका आवाजहरु पनि सुनिन्छन् नि हिजोआज ? 

हिंसालाई पनि सूक्ष्म रुपमा हेर्नुपर्ने हुन्छ । वनस्पति पनि सजीव हो नि । पात चुँड्दा पनि हिंसा हुन्छ । फूल टिप्दा पनि हिंसा हुन्छ । हरेक कुरामा हिंसा छ तर हिंसाको पनि श्रेणी हुन्छ । कुन हिंसाचाहिँ क्रुर हो भन्ने कुरा हो । हिंसाबारे शास्त्रमा लामो व्याख्या छ । 

मासु भोजन र साग भोजन दुवै हिंसा नै हो । हिंसाको प्रकार मात्र फरक हो । अर्जुनको कथाबाट पनि बुझ्न सकिन्छ । पशुबली भनेको पशुताको बली हो । मानवमा दिव्यगुण आर्जन गरेर पाशविक गुणहरु हटाउँदै जाने पशुता हटाउनुपर्छ भन्ने मान्यता यसमा जोडिएको छ । 

तर कम हिंसा गरेर बाँच्ने प्रयत्न गर्ने हो । जस्तो कसैलाई चोट पुर्याउँदा पनि हिंसा हुन्छ । चित्त दुःखाउँदा, अरुको काम बिगार्दा, दुःख दिँदा हिंसा हुन्छ । काटेर मारेर मात्र हिंसा हुने होइन । सूक्ष्म रुपमा हिंसा देख्न नसक्दा सागपात खाँदा हिंसा भएको छ जस्तो लाग्दैन । 

दुर्गुणहरुलाई समाप्त पार्ने भनेर खराब भावनाहरु मारेको रुपमा बुझ्नुपर्छ । मुख्य कुरा धर्म, अर्थ, काम, मोक्ष चार अर्थलाई व्यवस्थित र सन्तुलित जीवन बाँच्नुपर्दछ । 

सम्बन्धित समाचार

संगीतमा 'मन मगन' दीपक बज्राचार्य 

काठमाडौं । ‘समय गएको त पत्तै नहुने रहेछ । पहिलेका फाइलहरु, फोटोहरु पल्टाउँदा ओहो मैले यो पनि गरेको रहेछु भन्ने लाग्छ । त्यहाँ पनि पुगेको रहेछु भन्ने लाग्छ । हिजो

काष्ठकलामा निपूर्ण पूर्णलक्ष्मी 

काठमाडौं । छोरा मान्छेको तुलनामा छोरी मान्छेले अप्ठ्यारो काम गर्न सक्दैनन्, पुरुषको दाँजोमा महिलाले थोरै काम गर्ने भएकाले नै पछि पर्छन् भन्ने नेपाली भनाइलाई गलत साबित गरिदिने धेरै नारीमध्ये एक

व्यापारघाटा कम गर्न विशेष आर्थिक क्षेत्रको ठूलो भूमिका हुनसक्छ - डा.भट्ट, कार्यकारी निर्देशक, सेज

काठमाडौँ। नेपालको व्यापारघाटा अहिले उच्च र बढ्दो क्रममा छ । आयातको तुलनामा निर्यात एकदमै कमजोर रहँदा यस्तो अवस्था आएको हो । जेनतेन रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलाएको छ भन्दा पनि फरक पर्दैन

मालीबाट मालिक बनेका तीर्थ !

काठमाडौँ। फूलैफूलको पर्व तिहार घरदैलोमा आइसकेको छ । दाजुभाइमा गलादेखि घरका तलासम्म कुन कुन फूल प्रयोग गर्ने भन्ने चटारो यतिबेला सबैलाई परेको छ । सकेसम्म राम्रा राम्रा फूलमालाले झलमल्ल पार्न सबै


z