• २०८१ बैशाख १५ शनिबार

बामदेव प्रकरण : किन असुरक्षित बने दुवै पाइलट ?

kharibot

काठमाडौँ। बामदेव प्रकरणले नेपाली राजनीतिमा एक किसिमको हलचल ल्याएर अहिलेलाई सकिएको छ ।   तर यो प्रकरण अहिलेलाई सकिदै गर्दा नेकपा भित्र नयाँ भुइचालोको संकेत भने दिएर गएको छ। बाहिर नदेखिए पनि अघोषितरुपमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षबीचको अन्तर्द्वन्द चलिरहेका बेला यस प्रकरणले नेकपा भित्र थप कित्ता काट हुने सम्भावना देखिएको छ। 

अहिले दुवै अध्यक्षको कार्यशैलीप्रति असन्तुष्ट देखिएका माधव नेपाल यस प्रकरणमा मौन नै रहे, अर्का वरिष्ठ नेता झलनाथ खनालले बामदेवको समर्थन नै गरेको रिपोर्ट बाहिरियो।  तत्कालिन एमालेका महासचिव इश्वर पोखरेल वामदेवको विपक्षमा उभिए। तत्कालिन एमालेका उपाध्यक्ष भिम रावल पनि गौतमको विपक्षमा उभिएको खबर बाहिर आयो। यस प्रकरणमा तत्कालिन माओवादीतर्फका नेताहरु भन्दा एमालेतर्फका नेताहरुनै तरंगित हुन पुगे । अझै पनि कति नेताले बामदेवलाई संसदमा लैजानु पर्ने तर्क अगाडी सारिरहेका छन् भने कतिले एक पटक पराजित भएको नेताले ५ बर्ष कुर्ने धैर्यता देखाउनु पर्ने विचार राख्दै आएका छन्। 

बामदेवप्रति को को सशंकित :

गएको निर्वाचनमा बामदेव गौतमलाई बर्दियामा पार्टीबाट अन्तर्घात भएर नै हारेओ कुरा ओपन सेक्रेट नै हो।  देश भरि पार्टीले जित्दा वरिष्ठ नेता बामदेवले हार्नु आफैमा अपाच्य थियो र छ पनि। पार्टीमा बामदेवको भूमिका उनले जसलाई समर्थन गर्यो उ नै निर्णायक हुने स्थिति हो।  तत्कालिन एमालेको गत महाधिवेशनमा पनि बामदेवको समर्थनमा नै केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भएका थिए। अहिले पनि बामदेवले ओलीको विरोध गरे उनलाई अप्ठ्यारो पर्ने निश्चित छ । बामदेवको पार्टी भित्रको यहि निर्णायक पोजिशनलाई चुनौती दिने या फाइदा उठाउने घटनाको रुपमा पछिल्लो प्रकरणलाई लिइएको छ।  प्रचण्ड इतरका नेताहरु कहिँ न कहिँ बामदेवलाई देखाएर ओली पक्षलाई सशंकित बनाउन चाहन्थे जसमा उनीहरु एक हदसम्म सफल भए भने ओली पक्ष पनि बामदेवलाई देखाएर आफुलाई वेटिंग प्रधानमन्त्रीको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखाउदै आएका प्रचण्डलगायतका नेताहरुलाई सशंकित बनाउन चाहन्थे।  यस पटक दुवै पक्षले बामदेव रुपी अस्त्रको सहि प्रयोग गर्न खोजे तर यसले दुवै पक्षलाई हानि पुर्यायो। सिंगो पार्टीलाई केहि हद सम्म ड्यामेज गर्यो। सत्तारुढ दल र सरकारको आलोचना झन् बढ्यो। जनतामा झन् निराशा बढायो। 

बामदेवको सहि निर्णय :

बामदेव गौतमको राजनीतिक यात्रा र उनको छबिलाई यस प्रकरणले अलिकति ब्याकफुटमा अवश्य धकेली दिएको छ तर उनले आफ्नो ड्यामेज कन्ट्रोल गर्दै काठमाडौँ ७ बाट उम्मेदवार नहुने निर्णय गरेर सहि निर्णय गरेका छन्। पार्टीको स्पष्ट बहुमत भएको अवस्थामा उनको हैसियतको नेता संसदमा निर्वाचित भएर आउन खोज्नुलाई सामान्य रुपमा लिन सकिन्छ तर अहिले सरकारले काम गर्न नसकेको, जनताबाट हरेक दिन आलोचित भइरहेको र पार्टी नेतृत्वले पनि आफुलाई असुरक्षित महसुस गरिरहेको बेला एक्कासी बामदेव उम्मेदवार बन्छु भन्दा उनीमाथि पार्टी भित्रका सत्तासिनहरु र छिट्टै सत्तामा पुगिन्छ भन्ने हरु आत्तिए र बामदेवको विरोधमा आए। समय र परिस्थितिको सहि विश्लेषण गर्दै बामदेवले सहि निर्णय गरेका छन्। 

नेकपाको नेतृत्व किन असुरक्षित :

जहाजलाई दुई पाइलटले चलाउने भन्दै ओली र प्रचण्ड अध्यक्ष बन्दै पार्टी एकीकरण गरेको नेकपाको नेतृत्व कति सम्म असुरक्षित रहेछ भन्ने यस प्रकरणले स्पष्ट पारेको छ। बामदेव उम्मेदवार बन्ने चर्चासँगै आफ्नो पद नै खोस्छ जस्तो गरि प्रतिक्रिया आयो। अध्यक्षद्वयले यस्तो प्रतिक्रिया दिए पनि उनीहरुले आफु निकटबाट यस्तो प्रतिक्रिया दिन लगाए। जसले गर्दा बामदेवलाई उम्मेदवार बन्न असहज बनायो।  प्रदेश सांसदहरुको भेला, काठमाडौँ पार्टीको असहयोग यसका उदाहरण हुन्। दशकौ सत्ता चलाउने हाक गरेर पार्टी एकीकरण भएको नेकपाका शिर्ष नेताहरुनै यसरी असुरक्षित महसुस गर्छन भने भोलि तल्लो तहसम्म पार्टी एकीकरण भएर कसरी अगाडी बढ्छ ? कम्तिमा नेकपाका कार्यकर्ताका लागि सोचनीय विषय बनेको छ। जसले जे भने पनि नेतृत्वको आत्मविश्वास गुमे जस्तै नेकपाका कार्यकर्ताले अहिले यो सरकार ५ बर्ष टिक्छ भनेर भन्न सकिरहेका छैनन्। शायद यहि आत्मविश्वासको कमिले नै बामदेवको उम्मेदवारीको चर्चाले मात्र नेकपा भित्र यति ठुलो हडकम्प ल्यायो ।

बामदेव प्रकरणबाट नेतृत्वले सिकोस् :

हुन त देशको राजनीति र यसको नेतृत्व गर्नेहरु केहि सिक्न उद्दत देखिदैनन्। सिक्ने र जनताका पक्षमा काम गर्ने बह्ये आज यस्तो स्थिति हुने नै थिएन तर पनि ५ बर्षको लागि जनमत पाएको सरकार र सत्तारुढ दल नेकपाले विकास र समृद्धि नल्याए पनि स्थिर सरकार देओस भन्ने जनचाहना रहेको छ। विगतमा सरकार अस्थिर हुदा भोगेको नोक्सान अब फेरी सहने पक्षमा जनता छैनन्। त्यसैले पनि नेतृत्व असुरक्षित भन्दा पार्टीका कुरा सतहमा आउन नदिई आफुले चुनावका बेला जारी गरेको घोषणा पत्र अनुसार काममा ध्यान दिन जरुरी छ। सरकार बनेको ७ महिना पुरा हुदै गर्दा सरकार आफ्नो काममा असफल देखिएको छ। जनतामा छाएको निराशाले पार्टी फेरी सरकारको नेतृत्व बदल्ने चक्करमा लागे फेरी अर्को ७ महिना खेरा जाने छ।  
                      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय