• २०८१ बैशाख १५ शनिबार

तेलको पुनः प्रयोग हानिकारक

kharibot

दशैंमा हामीहरु घरमा विभिन्न परिकार बनाएर सबैलाई खुवाउँदै आफू पनि खाएर रमाइलो गर्ने गर्छौं । सबैजना मिलेर बाँडीचुँडी खानु त धेरै राम्रो संस्कार हो । तर, घरमा धेरै मानिस आउने र धेरै परिकार बनाउनुपर्ने भएकोले कतिपयले एक पटक प्रयोग गरिसकेको तेल पुनः प्रयोग गर्ने गरेका छौं । तर, खाना पकाउँदा त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भनी ध्यान नदिने र लोभ गर्नाले आफू र आफ्नो परिवारको स्वास्थ्य गडबड हुन पनि सक्छ । 

एकपटक प्रयोग गरिसकेको तेल घरिघरि प्रयोग गर्नु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । 

नेपालमा तेलको धेरै तरिकाले र धेरै प्रकारका परिकारमा प्रयोग गरिन्छ । अझ दशैमा त तारेको, भुटेको मासु खाने चलन बढी छ । तेलले परिकारमा सुगन्ध ल्याई भोजनलाई स्वादिष्ट बनाउने काम गर्ने भएकाले भान्छामा तेलको प्रयोग बढी हुने गरेको हो । कतिपय घरमा एक पटक प्रयोग भई सकेको तेल पुनः प्रयोग गर्ने चलन छ । यसले तेलको बचत त होला तर स्वास्थ्यलाई भने निकै हानि गर्छ । 

यदि एकपटक कुनै कुरा तार्दा अथवा भुट्दा प्रयोग गरिएको तेलमा फेरि केही पक्वान्न बनाइन्छ भने त्यसमा फ्री रेडिकल्स उत्पन्न हुन्छ । यसले शरीरमा दुखाइ बढाउनुका साथै अन्य रोग पनि लाग्न सक्छ । फ्री रेडिकल्स शरीरका स्वस्थ कोशिकासँग सजिलै घुलमिल हुन्छ । यसले कोशिकाहरु मर्न सक्छन् । फ्री रेडिकल्सका कारण क्यान्सर पनि उत्पन्न हुन सक्छ । पुनः प्रयोग गरिएको तेलले शरीरमा नराम्रो कोलस्ट्रोल बढाउँछ र नसाहरु बन्द हुन सक्छन् । 

बारम्बार प्रयोग गरिएको तेलका कारण एसिडिटी, मुटुसम्बन्धी रोग, अल्टसाइमर्ज डिजिज, पार्किन्सन हुनुका साथै यसले घाँटी पनि खराब गर्छ । 

त्यसैले कुनै कुरा तार्नलाई एकपटक प्रयोग गरिसकेको तेललाई फेरि प्रयोग गर्नुहुँदैन । तर थोरै कुरामात्र भुटिएको अथवा तारिएको छ र छिटै अर्को कुरा भुट्न अथवा तार्न पर्यो भने चाहिँ त्यसको पुनः एकपटक प्रयोग गर्न सकिन्छ । कुनै कुरा हल्का फ्राइ गर्न प्रयोग गरिएको तेल पुनः प्रयोग गर्न सकिन्छ भने तेलमा धेरै समय लगाएर केही तारिएको छ भने त्यसलाई पुनः प्रयोग नगर्दा नै राम्रो हुन्छ । 

यदि बचेको तेल पुनः प्रयोग गर्नु छ भने बचेको तेललाई चिसो हुन दिनुपर्छ । त्यसपछि तेललाई छानेर अर्को भाँडोमा राख्नुपर्छ । यसो गर्नाले तेलमा भएका टुक्राहरु, झुर्कामुर्का सबै हटेर जान्छन् र तेलको पुनः प्रयोग गर्न सकिन्छ । त्यस्तै, तेलको रङ पहिलेको भन्दा गाढा छ भने त्यसलाई पनि प्रयोग गर्नुहुँदैन । त्यसलाई फाल्नु नै उपयुक्त हुन्छ । त्यस्तै, तेल तताउँदा त्यसबाट पहिलेको भन्दा बढी धुवाँ आयो भने पनि त्यसलाई प्रयोग गर्नु राम्रो होइन । 

तेल विभिन्न प्रकारका हुन्छन्, कुनै तेल तताउँदा धुवाँ निस्किन्छ भने कुनै प्रयोग गर्दा धुवाँ निस्किँदैन । जस्तै, सनफ्लावर, सोयाबिन आदिको तेल तताउँदा त्यति धुवाँ आउँदैन । यस्तो स्मोकिङ पोइन्ट नभएको तेलमा केही कुरा भुट्नु राम्रो होइन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै