• २०८१ बैशाख २६ बुधबार

शिक्षाविद् भोलाप्रसाद दाहालको निधन

kharibot

काठमाडौँ। शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । 

एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनसमेत गर्दथे । 

निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको उनको परिवारलाई भेट्न पुगेर फर्कका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिए । रामेछापको साँघुटारमा जन्मनुभएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए । 

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि उनलाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उहाँको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उनका श्रीमती र तीन छोरा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै