औंलाले क्यानभास रङ्ग्याउने प्रमिला

खरीबोट

 

काठमाडौँ । काठमाडौँ विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धा छिन्, तर उनको ऊर्जा कुनै तन्नेरीभन्दा कम छैन ।

चारदशक अघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा जोशमा चित्र कोर्छिन् । उनी अरुभन्दा फरक रुपमा कुचीको सट्टा औँलाले नै क्यानभास रङ्ग्याउछिन् । “कुचीले रङ भर्दा आत्मीयता भेट्दिन, औँलाले काम गर्दा रङ र क्यानभाससँग म अन्तक्र्रिया गर्छु”, प्रमिलाले भनिन् ।

सन् १९६० को दशकतिर उहाँ भारतको बेङलोरस्थित शान्ति निकेतन पढ्न पुगिन् । चार वर्ष पढेर फर्केपछि त्यो बेलाका कलाकार शशीविक्रम शाह, गोविन्द डङ्गोल, विजय थापालगायत मिलेर नेपालमा ललितकला क्याम्पस खोल्ने अभियान थालिन् । क्याम्पस खुलेपछि त्यहाँ १८ वर्ष कला पढाएको अनुभव उनीसँग छ ।

पहिलेपहिले कुचीमा पानी रङ चढाउन मन पराउने उनी विस्तारै तेल रङसँग खेल्न थालिन् । त्यही पनि औँलाले पोतेर । सिर्जनासँगै स्वदेश र विदेशमा कला प्रदर्शनी वृद्धावस्थामा समेत जारी छ ।

नर्वेका एन्डर्ससँग विवाह भए पनि कहिले नेपाल त कहिले नर्वे बसाइमा आफ्नो कला रोकिएन । नर्वेमा बनेका कला भने उताको प्रदर्शनीमा बेचेर उनी नेपाल आउंथिन् । उनका कतिपय चित्र रु ११ लाखमा बिक्री भएका थिए । त्यहाँ पनि नेपालको सुन्दरता, कलात्मक विविधतालाई क्यानभासमा कैद गर्थिन् ।

देशको माटोको भाव जोगाउनुपर्छ भनेर धेरै कला उनले संरक्षण गरेकी छन् । “किन्न खोज्ने धेरै छन्, तर नबेच्ने, प्रमिलाले भन्नुभयो, भावी पुस्तालाई पनि राख्नुपर्यो नि ।”

उतिबेलाका मूर्तिकलाका उत्कृष्ट नमूना काठमाडौँको भृकुटीमण्डपलगायत विभिन्न स्थानमा अहिले पनि हेर्न पाइन्छ । चित्रकला तथा मूर्तिकलामा अब्बल उहाँको सोच अहिलेको शहरलाई वातावरणमैत्री कलाले सजाउने छ । “हरेक सरकारी कार्यालयले कला किनेर सजाउनुपर्छ, हरेक चोक र सार्वजनिक स्थल नेपाली कलाले भर्नुपर्छ, तबमात्र नेपालको वास्तविक झल्किन्छ”, प्रमिलाले थपिन् ।

उतिबेला र अहिलेको अवस्थाको विश्लेषण भने उनी फरक तरिकाले गर्छिन् । अहिले कलाको अवस्था दयनीय बन्दै गएकोमा उनी दुखी छिन् । क्षमता विदेशीको दाँजोमा राम्रो भए पनि नेपालका राम्रा कलाकारले उचित वातावरण पाउन नसकेको उनको बुझाइ छ ।

उनीबाट हामीले कलाकारिताको शिक्षामात्र हैन कलाकारिता कै भविष्य कता लैजाने भन्ने कुराको मार्गनिर्देश पाउने एकजना कलाकार ज्योतिप्रकाश विकले बताए । उनी स्वार्थभन्दा माथि उठ्ने कलाकारको रुपमा गिरीलाई सम्झिन्छन् ।

तिब्बत र भैरवको कला शृङ्खला

अध्ययनसँग कलाकारिता गर्ने उनले सन् १९९० ताका तिब्बतमा गरेको अध्ययनको फलस्वरुप जन्मियो तिब्बत कलाको शृङ्खला । तिब्बतको मूर्तिकला, चित्रकला, थाङ्का अनि त्यहाँको कलात्मक गुम्बा र दरबारको कलाले उनलाई तान्यो । “पहिलो पटक तिब्बत जाँदा देखेको वुद्धको ध्यान, धार्मिक आस्था, भाषा नबुझे पनि आँखाको इशारा अनि सरलताको भाव चित्रमा उतारेको छु,” गिरीले भनिन्, “त्यही भाव तिब्बत कला शृङ्खलामा छ ।”

तिब्बतको लामो बसाइको अनुभव नेपाल कला परिषद्मा एक सातादेखि जारी कला प्रदर्शनीमा हेर्न पाइन्छ । सन् २०१६ को कला प्रदर्शनीमा छुटेको कला यसपालि समावेश छ । यहाँ हिन्दू धर्मसँग जोडिएको भैरव कला शृङ्खलाले पनि निरन्तरता पाएको छ ।

तत्कालीन तन्त्र विद्याका अध्ययता श्रीधर शमशेर राणाबाट भैरव भनेको भिषण नाद (ठूलो आवाज) हो भन्ने बुझेपछि त्यसको सार खोज्न उनले अर्को अध्ययन गरिन् । पशुपतिनाथलगायत विभिन्न धार्मिक स्थल घुमेर भैरवको भाव, चरित्र, महत्व र अस्तित्व चित्रमा उतारेकी छन् । शुक्रबार नर्वेका कला पारखीको समूह आएर प्रदर्शनी अवलोकन गरे । नेपालीको पनि प्रदर्शनी अवलोकनमा भीड थियो ।

नर्वेका स्भेरे नेडवर्गले गिरी कै कला प्रदर्शनीको समय मिलाएर नेपाल घुम्न आएको बताउँदै नेपालको प्रकृतिजस्तै उनको कला चम्किलो रहेको प्रतिक्रिया दिए । उनीसँगै हिल्डे, बेस्सी, एण्डर्सलगायतले पनि कला अवलोकन गरे । प्रदर्शनीमा क्यान्भासका चित्रसँगै ढलोट पित्तल, तामा तथा सिमेन्टबाट निर्मित कलाको मिश्रित रुप देख्न सकिन्छ ।

सम्बन्धित समाचार

औंलाले क्यानभास रङ्ग्याउने प्रमिला

  काठमाडौँ । काठमाडौँ विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धा छिन्, तर उनको ऊर्जा कुनै तन्नेरीभन्दा कम छैन । चारदशक अघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा जोशमा चित्र कोर्छिन् ।


z