• २०८१ बैशाख २९ शनिबार

भूकम्प बिर्सिँदै बारपाक : ८५ प्रतिशत पुनर्निर्माण सकियो

kharibot

बारपाक (गोरखा) । तीन वर्षअघिको विनाशकारी भूकम्पले थङथिलो पारेको बारपाकमा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बारपाकमा भूकम्पपछिको पुनर्निर्माणको काम करिब ८५ प्रतिशत सकिएको खरीबोटलाई जानकारी दिएका हुन् । 

उनले भने, ‘बारपाकमा भूकम्पपछिको पुननिर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।’ उनका अनुसार भूकम्पले भत्काएको बारपाकको भग्नावशेष लगभग ठडिइसकेको छ । मुख्य गरेर बारपाकभित्र मनिडाँडा, ताक्लेनान, गैरीगाउँ,  मिलनचोक,  कोट, पँधेरा, लाकुरीबोट, दमाईं टोल, खड्काटोल, लिवाचे, माउँचे,   पोखरी, मान्द्रे, तुलसिकुवा, पुँजे, सन्यानी, थल थलीडाँडा, अलगाउँ, उखुरे लगायतका ठाउँहरु सुलिकोट गाउँपालिका १ बारपाकभित्र पर्ने ठाउँहरु हुन्  ।  

ढुङ्गा, माटोले बनेको एकैनासे १४ सय ७० घर ०७२ वैशाख १२ को एक मिनेटबराबरको भूकम्पले भताभुङ्ग पार्नुको साथै ७० जनाको मृत्यु समेत भएको थियो । विनाशबाट नै विकास सम्भव हुन्छ भन्ने सोचाइ राख्ने वडाअध्यक्ष विकले  भूकम्प नगएको भए बारपाकमा यतिसम्मको विकास नहुने समेत दाबी गरे ।

उनले भने, ‘भूकम्प गयो क्षति धेरै भयो, एउटा ठूलो र सिङ्गो गाउँ एकै मिनेटमा खण्डहरमा परिणत भयो तर त्यही विपत्ले बारपाकको मुहार परिवर्तन भयो ।’ उनले भनेजस्तै ढुङ्गा र माटाले बनेको गाउँले परिवेशको बारपाक अहिले सहरजस्तै बनेको छ । उनले भूकम्पले फेरिएको बारपाकको हालको अवस्था हेर्दा  विनाश नै विकासको माध्यम बन्ने कुरा पुष्टि भएको समेत बताए । 


भूकम्पले बारपाकमा व्यापक परिवर्तन आएको छ खासगरी घरटहरा निर्माणको संरचनामा । तर पछिल्लो अवस्थाको बारपाकको पुनर्निर्माणपछिको नयाँ संरचनाले पुरानो बारपाकको पहिचान भने सदाका लागि मेटाएको छ ।

यद्यपि आफ्नो पहिचानभन्दा पनि सुरक्षा महत्वपूर्ण कुरा भएको अध्यक्ष विकले दाबी गरे । अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर निर्माण हुनु खुसीको कुरा भएको उनको भनाइ छ । अध्यक्ष विकले हाल प्राविधिकको सल्लाहमा भूकम्पप्रतिरोधी घरहरु निर्माण भएको बताए  ।

उनले अगाडि भने,    ‘केही घरहरु भने भत्काउँदा र बनाउँदा उत्तिनै खर्च लाग्ने भएको कारण बनाउन समस्या भएको छ ।’ 

एउटा घर बनाउन ६ लाख खर्च 
उक्त विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा अहिले धमाधम पुनर्निर्माणको काम भइरहेको छ । जहाँ सामान्य २ कोठाको घर बनाउन ६ लाख रुपैयाँसम्म लागेको वडाअध्यक्ष विकले जानकारी दिए ।

सरकारले दिएको ३ लाख राहत रकमले ठूलो सहयोग गरेको उनको भनाइ छ । त्यस्तै, निर्माण सामग्रीहरु तलबाट माथि गाउँसम्म लैजान ढुवानी खर्च धेरै लाग्ने भएकाले घर निर्माणमा खर्च धेरै लागेको उनले बताए  ।

भूकम्पपछि घरघरमा एम्बुलेन्स 
भूकम्पअघि बारपाकको बसपार्कसम्म मात्र मोटरबाटो पुगेको थियो तर अहिले घर–घरमा एम्बुलेन्स जान मिल्ने गरी बाटो बनाइएको छ । ‘घर–घरमा एम्बुलेन्स छिराउने काम भयो, ठूलो बाटो त छैन तर एम्बुलेन्ससम्म छिर्ने बाटो निर्माण भएको छ, यो आफैँमा खुसीको कुरा हो’, उनले भने  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय