• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थी हालसम्मकै उच्च, नेपालमा पढ्ने अमेरिकी पनि बढे ! 

kharibot

काठमाडौं । पछिल्लो एक अध्ययनले विगत ३ वर्षमा अमेरिकामा गएर शिक्षा लिने नेपाली विद्यार्थीको संख्यामा उच्च वृद्धि भएको देखाएको छ । सन् २०१८ को ओपन डोर्स रिपोर्टका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या १४.३ प्रतिशतले वृद्धि भएको देखिएको हो । 

इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन र अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एण्ड कल्चरल अफेयर्सले प्रकाशन गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीको संख्या बढेको पाइएको हो ।

धेरै अमेरिका जाने विद्यार्थीहरुको आधारमा उच्च २५ देशमध्ये नेपाली विद्यार्थी संख्या उच्च रुपमा बढेको हो । अमेरिकामा नेपाली विद्यार्थी संख्या वृद्धि उच्च भएको यो नै पहिलो हो । पछिल्लो तीन वर्षमा उक्त अध्ययनका अनुसार १३ हजार २ सय ७० जना नेपाली विद्यार्थी अमेरिकामा रहेका छन् । 

धेरै विद्यार्थी अमेरिका जाने २५ देशमध्ये नेपाल दशौँ स्थानमा रहेको छ । उक्त मन्त्रालयका उपसचिव म्यारी रोयसका अनुसार सबै क्षेत्रमा चुनौतीको सामना गर्नसक्ने जनशक्ति तयार पारी समस्याको समाधान, सुरक्षा र उच्च समृद्धिको लागि अन्तर्राष्ट्रिय शिक्षालाई अमेरिकाले जोड दिएको छ । शैक्षिक वर्ष २०१७÷०१८ मा अमेरिकामा विश्वका १० लाखभन्दा धेरै विद्यार्थीले अध्ययन गरेका थिए ।

यो संख्या अहिलेसम्मकै उच्च रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । त्यस्तै नेपालमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको संख्या पनि अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत वृद्धि भएको दूतावासको भनाइ छ । 

यो हप्ता (नोभेम्बर १२–१६) ओपन डोर्स रिपोर्टले अन्तर्राष्ट्रिय शिक्षा हप्ता पनि मनाइरहेको छ । यसको उद्देश्य विभिन्न देशका विद्यार्थीलाई अमेरिकामा आएर उच्च शिक्षा लिने भन्ने नै रहेको दूतावासले जनाएको छ ।

नेपालस्थित दूतावासले समेत आईईडब्ल्यु २०१८ लाई सहयोग गरिरहेको छ । त्यस्तै यूएसईएफ, एजुकेसन यूएसए रेफरेन्स सेन्टर लर्निंग हाउस र अमेरिकन सेन्टरलगायतले पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै