• २०८१ बैशाख १४ शुक्रबार

बाँकेको एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती

kharibot

 

बाँके । जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । राप्ती सोनारीको जलजला, बसेरी र छग्रह्वा सामुदायिक बनमा कुरिलो खेती गर्न थालिएको हो । यसबाट आम्दानी लिन कम्तीमा तीन वर्ष लाग्नेछ । गत आवमा जिल्लामा सात हजार लिटर मेन्था तेल र ७१ लिटर केमोमाइल तेल उत्पादन भएको थियो ।

कृषि क्षेत्रको विकासका लागि अनुदान र सस्तो ब्याजदरमा ऋण प्रदान गरेजस्तै जडीबुटी खेतीको प्रवद्र्धन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने जडीबुटी व्यवसायीको माग छ । सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन नसकेको अध्यक्ष अन्सारीले बताए । “जडीबुटी खेती गर्ने किसानलाई सरकारले प्राथमिकताको सूचीमा राख्नुपर्यो”, उनले भने । जडीबुटी व्यवसाय प्रवद्र्धन गर्न राज्यको लगानी शून्य रहेको उनको आरोप छ ।

किसानको व्यक्तिगत लगानीमा मात्र बजारीकरण सम्भव नभएको अन्सारीले बताए । “बजारीकरण र भण्डारणका लागि राज्यको तर्फबाट पहल हुनु पर्छ,” उनले भने । जिल्लामा कुरिलो र केमोमाइलको खेतीबारे जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन । सहायक वन अधिकृत टेक नेपालीले निजी जमीनमा केमोमाइल खेती भइरहेको बताए । केमोमाइल र कुरिलो निकासी गर्दा र बिक्री वितरण गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै