संगीतमा 'मन मगन' दीपक बज्राचार्य 

खरीबोट

काठमाडौं । ‘समय गएको त पत्तै नहुने रहेछ । पहिलेका फाइलहरु, फोटोहरु पल्टाउँदा ओहो मैले यो पनि गरेको रहेछु भन्ने लाग्छ । त्यहाँ पनि पुगेको रहेछु भन्ने लाग्छ । हिजो भर्खरै त सुरु गरेको हो म्युजिक भन्ने लाग्छ ।’ यो ‘नोस्टाल्जिया’ हो गायक दीपक बज्राचार्यको । 

त्यसो त उनको एल्वम हेर्दा पनि हरेक एल्बमको बीचमा ४-५ वर्ष अन्तराल हुनुको कारण अहिलेसम्म मात्र ८-९ वटा एल्वमहरु मात्र निस्किएको छ उनको । ‘आशैआशमा’ एल्बमबाट ‘मनमगन’सम्म आइपुग्दा लामो समय भइसकेको छ ।  

दीपकको पहिलो सांगीतिक एल्बम २०४७ मा आयो । त्यहाँबाट हिसाब गर्दा २५ वर्षभन्दा बढी भइसकेको छ उनको सांगीतिक यात्रा । त्यतिबेला उनीसँग गीतसंगीतमा रुचि भएका साथीहरुको ‘ग्रुप’ थियो । ‘कभरसङ इंग्लिस’ गीत गाउने गरेरै यो समूहले २-४ वर्ष बितायो । संगीतमा जीवन बिताउन सकिँदैन भन्नेमा यो ग्रुपका सबै सदस्यहरु अर्थात् दीपक पनि विश्वस्त थिए । सबैको ‘प्लान’ एउटा आफ्नै ‘ओरिजिनल’ एल्बम बनाउने र आआफ्नो भविष्यतिर लाग्ने थियो । ‘प्लान’अनुसार एउटा एल्बम पनि निस्कियो । उक्त एल्बमको एउटा गीत ‘काली काली हिस्सी परेकी’ राम्रैसँग चल्यो । त्यसपछि भने दीपकलाई पनि लोभ लाग्यो ।

साथीहरुले संगीत छोडे तर उनले सकेनन् । उनले अर्को रेकड गरे । त्यसको ‘ओ अमिरा’ भन्ने गीतले उनलाई सहि अर्थमा गायकको पहिचान दिलायो । अमिरा श्रेष्ठ मिल्ने साथी थिइन्, जिन्दगी अमिरासँगै बिताउने भन्ने कुरा भने टुङ्गो भइसकेको थियो ।  साथी अमिरालाई गिफ्ट गर्न बनाएको ‘पर्सनल गीत’ चलेपछि उनलाई लाग्यो, ‘म एक्लै भए ब्याण्ड नभए पनि अगाडि बढ्न सक्ने रहेछु !’ दीपक यसलाई जीवनको टर्निङ प्वाइन्टको संकेत गर्दै भन्छन्, ‘ओ अमिरा’ नचलेको भए सायद म पनि अर्कै बाटोमा लाग्थेँ होला ।’ नत्रभने उनको लागि म्युजिक सोख मात्र हुने थियो तर ‘ओ अमिरा’ले उनको सोखलाई पेशामा परिणत गरिदियो । सोही कारण होला दीपकलाई अझै पनि ‘ओ अमिरा’ नै प्रिय लाग्छ ।  

हो, तिनै ‘अमिरा’ अहिले दिपककी श्रीमती हुन् । बिहे भएको २१ बसन्त कटिसक्यो । दिपक र अमिरा अहिले एक छोरा र छोरीका साथ आफ्ना आमाबुवासँग साथ छन्। 
दीपकको जीवनको अर्को रोचक कुरा त उनी पाटनमा जन्मेदेखि नै यो उपत्यका छोडेर कतै गएका छैनन् रे ! उनी भन्छन्, ‘जान पनि नसक्ने जस्तै भइसकेको छु ।’ उनका अधिकांश साथीहरु आफ्नो बच्चाको भविष्य खोज्दै परदेश पसिसके । उनले पनि अमेरिका बस्ने कोसिस भने नगरेको होइन तर त्यहाँ बस्दा आत्मा यता, शरीर उता हुनेजस्तो ‘फिल’ भएपछि आत्माविना कसरी बस्नु भनी स्वदेश फर्किएको उनी बताउँछन् । त्यहाँ वर्ष दिन पनि बस्न नसकेको अनुभव छ उनीसँग । 

उनको सांगीतिक यात्रामा पारिवारिक साइनो थिएन । तर पनि नेपालमा त्यो समयमा पप संगीतमा कसरी लाग्नुभयो भन्दा  उनी भन्छन ,' संगीत त संगीत नै हो ।  अहिले पनि त्यतै छु ।’ ‘वेस्टर्न म्युजिक’मा लागेका ‘आर्टिस्ट’हरु सबैले आफूजस्तै गाएको जस्तो लाग्थ्यो उनलाई । भन्छन्, ‘०७० तिर नेपाल छिरेका ‘हिप्पी’हरुको प्रभाव हो कि, विदेशी म्युजिकको बढी प्रभाव हामीमा पर्नुमा ।’ यताको संगीतभन्दा उतैको संगीतसँग उनको साइनो जोडिनथाल्यो । त्यसपछि त उनी पनि कपाल पाल्ने, मुन्द्रा लगाउने, गितार बजाउने गर्न थाले । 

तर पछि विदेश टुर गर्नथालेपछि भने उनीमाथि विदेशीले नै तिमी ‘नेपाली म्युजिक भनेर अरुकै म्युजिकमा छौ, यो नेपाली म्युजिक होइन भाषा मात्र हो’ भन्नथालेपछि भने उनलाई पनि कस्तो कस्तो लाग्यो । अहिले ८-९ वर्षयता नेपाली बाजा र गीतहरुसँगै उनी रमाउन प्रयासरत छन् । यसकै रिजल्ट हो – ‘मन मगन’ । उनी भन्छन्, ‘खास गरेर मैले २०१३ तिर एउटा प्रोजेक्ट नै गरेको थिएँ । डकुमेन्ट्री फिल्म नै बनेको छ त्यो सम्बन्धी ।’ 

यो सन् २००७ तिरको अमेरिका भ्रमणको प्रसंग हो जसले दीपकजस्ता संगीतका पारखीलाई घोचेको थियो । उनी अगाडि थप्छन्, ‘तिमीहरुको आफ्नै केही छैन भनेपछि हामीले अध्ययन गर्न थाल्यौं । २०१२ तिर पहिलो कन्सर्टमा भएभरको नेपालीबाजाहरु राखेर कार्यक्रम गर्यौ ।’ त्यतिबेला पप म्युजिकमा यो गर्न मिल्छ कि मिल्दैन भन्ने थियो । किनभने जे पायो त्यही बजाउन त मिल्छ तर पौराणिक बाजाहरुको आफ्नै मौलिकता हुन्छ, त्यो पनि बिगार्न ठीक हुँदैन जस्तो पनि महसुस भएको थियो उनलाई । 

यस्तैमा पाटन दरबार स्क्वाएरमा १०औं हजारको उपस्थितिमा उक्त कन्सर्ट भएको थियो । भएभरका बाजाहरु एकै ठाउँमा सुन्न पाएका दर्शकले यस्तो नौलो सांगीतिक प्रयोगलाई एकदमै रुचाएको उनको निष्कर्ष छ । सबैले यसमा ‘नेपालीपन’ भेटेको ‘रियलाइज’ गरेपछि उनको रेकर्डिङको रफ्तार बढ्यो । पहिलो रेकर्डिङ आफ्नै रेकर्डहरुलाई गर्नेक्रममा ‘मायाको डोरी’, ‘ओ अमिरा’, ‘काली काली हिस्सी परेकी’लगायतका गीतहरु पुनः नेपाली बाजाहरुमा रेकर्ड भए । 

त्यसपछि नयाँ गीतहरु पनि गरेको उनको सम्झना छ । २०१३ तिर उनले साथीहरुसँग मिलेर नेपाली र अंग्रेजी भर्जनमा रेकर्डिङ गरे । जसमा एकैचोटि ढिमे, तबला, डमरुलगायत थुप्रै बाजाहरु प्रयोग भए । तर दुःखअनुसारको ‘पब्लिक भ्यु’ भने पाउन नसकेको उनी सुनाउँछन्, ‘त्यसपछि अल्लारे भन्ने गीत निकाल्यौं । त्यसमा मादल बेसमा गर्यौ । सानी भन्नेमा नेवारी ढिमे मात्र राखेर गयौं ।’ 

उनको ‘मन मगन’को ‘कन्सेप्ट’ छोरी चेरिसाबाट नै निस्केको हो । छोरीको ‘आँखा चिम्लेर बाजा सुन्नेबित्तिकै जात्रामा पुर्याइदिन्छ, त्यो आवाजले भजन, जात्रामा पुगेजस्तो फेस्टिवल मुभमा ल्याइदिन्छ’ भन्ने कन्सेप्ट अघि सार्दै गर्ने क्रममा उनले ‘फिल्ममेकर’सँग कुरा गरेर जात्रै नभएको दिनमा जात्रा क्रिएट गरे । उनी भन्छन्, ‘यसले गाह्रो पनि रमाइलो पनि भयो ।  हेर्नको लागि पनि फोकस गर्यौँ र व्यापक रिजल्ट आयो ।’ चारैतिरबाट बल्ल नेपाली गीत सुनेजस्तो भयो भन्ने खालका प्रतिक्रिया आएपछि उनलाई पनि बल्ल मन मगनमा पोट्रेट गर्न सकियो भन्ने लाग्यो । 

१० वर्षको दूरीमा आएको मन मगन अहिले युट्युबमा हेर्न सकिन्छ नै, यसबारे रिसर्च पनि भएको उनको भनाइ छ । दीपकका अनुसार नेपाली बाजामा संसारलाई नचाउनुपर्छ । मन मगनको सफलता यसबाट पनि हेर्न सकिन्छ कि गत अप्रिलमा युट्युबमा राखिएको मन मगनको पहिलो गीत अहिले करिब ९० लाख पटक हेरिएको छ । 

‘मोडर्न म्युजिक’मा ‘मोडर्न वे’मा भए पनि आफ्नो मौलिकतालाई जोगाएर ‘कल्चरल हेरिटेज’ संसारमा जाने लक्ष्यसहित दीपकको प्रयास जारी नै छ । लाइभ कार्यक्रम पनि गरिरहेका छन् उनले । जहाँ जसरी होस्, नेपाली सांगीतिक संसारलाई उन्नयन पार्न लागिपरेका छन् उनी । अहिले नेपाली संगीतको आकाश निकै फैलिइसकेको छ, थुप्रै नयाँ ब्यान्ड आएका छन् । धेरैले उनलाई सँगै काम गरौँ न भनिहाल्छन् । 

कोरियाको एउटा प्रख्यात ब्याण्डले पनि कोरिया र नेपाल मैत्री संघको लागि डिसेम्बर १५ मा कार्यक्रम गर्ने भएको छ, अहिले त्यसमा ‘मन मगन’को तयारी गरिरहेका छन् उनी । उनको म्युजिक मन पराउनेमा अहिले थुप्रै विदेशीहरु पनि छन् । विदेशबाट धेरै सोधखोज हुनथालेको उनको अनुभव छ । 

उनको गीतसंगीतको संसार फैलिएको छ । भारतको दिल्ली, पंजावतिर बाटो बाटोमा उनलाई नचिने पनि भारतीयहरुले कुमारीहरु, छलिया नाचहरु सबैको फोटोहरु भएको पोस्टरहरु टाँसेका छन् । यसले उनलाई पनि खुसी दिलाएको छ । छिमेकी देशमा उनी ‘हामी नेपालबाट आएको ब्याण्ड’ भनेर सिंगर कल्चर कार्यक्रम गर्छन् ।  

पहिला पपको मात्र जानरा (विधा) भए पनि अहिले बूढापाकादेखि बच्चासम्म सबैले मन पराउने भएको छ उनको संगीत । संगीतमा नेपालीपन मात्र थप्दा पनि सबैले मन पराएकोमा उनी हर्षित छन् । पछिल्लो समय सांगीतिक संसार पनि निकै आधुनिक भइसकेको छ, डिजिटल प्रणालीले यसलाई व्यापक बनाएको त छ नै दीपकजस्ता सांगीतिक हस्तीहरुलाई पछ्याउनेहरुलाई पनि नेपाली संगीतमा पनि भविष्य छ है भन्ने चेतना र दृढता दिएको छ । 

संगीतमा नेपालीपन खोजिरहेका दिपक पूर्वदेखि पश्चिम नेपालसम्मकै संस्कृति झल्किने गरी ठूलो ब्याण्ड बनाउने तयारीमा छन् । गीतसंगीतमार्फत के के देखाउन सकिन्छ त भन्ने अध्ययन गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘जस्तो मनमगनबाट नै कति संस्कृति झल्काउन सफल बाजाहरु देखाएका छन् । सेतो फरिया लगाएर नाचेको के हो ? यो छलिया नाच हो भन्न पाए । सेतो हात्ती के हो ? रातो कुमारी के हो ? यो यो जात्रामा देखाउने हो, यो यस्तो समयमा गर्ने हो भनेर चिनाउन पाइयो ।’  

संगीतलाई तपस्याको रुपमा लिने दीपकले कतिपल्ट पढाइको परीक्षा र संगीतलाई तौलेर संगीतलाई नै रोजेका छन् । परिवारले पढाइमा बल गर्दा, आफ्नो गितार लुकाइदिँदा समेत दिपकलाई संगीतको संसारमा विचरण गर्नबाट रोक्न सकेन । देशले चिन्न सक्ने काम गर्न पाए भन्ने पहिल्यैदेखि लागेको कारण पनि हुनसक्छ अहिले दिपकले आफ्नो त्यो सपना पूरा गरेका छन् ।  

'मन मगन' लाई हिन्दी, नेवारी, नेपालीमा गाइसकेका उनी अंग्रेजीमा पनि गाउने तयारी गर्दै छन् । सांगीतिक संसारको टर्निङ प्वाइन्ट बनेको त्यो अमेरिका भ्रमणमा महसुस भएको नेपालीपनको अभाव पूर्ति गर्दै दुनियाँलाई उनी उनीहरुकै भाषामा नेपालीपन देखाउन लालायित देखिन्छन् उनी ।  

खरीबोटसँगको झण्डै १ घण्टे बसाइमा दीपकले हामीलाई आफ्नो प्रेमप्रसंग पनि बाँड्न भ्याए । उनका अनुसार फोनमा कुरा हुने गर्थ्यो । सुरुमा दुवै जनाको कुरा मिल्थ्यो । उनी भन्छन्, ‘मिल्ने साथी थियौँ म बगैँचा घुम्ने टाइपको थिइनँ । फिल्मी खालको मन पर्दैनथ्यो । अमिरालाई पनि मन नपर्ने । गितार बोकि दिनेसम्मको सहयोग गर्ने गर्थिन् उनी पनि । पछि फिल भयो हाम्रो राम्रो जोडी बन्छ । 'ओ अमिरा' पछि सामाजिक प्रेसर बढ्यो, अनि चाँडै बिहे भयो । 

प्रस्तुति : सकला दवाडी / कविता घिमिरे 

सम्बन्धित समाचार

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो  : राम लोहनी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको अध्यापन गरिरहेका राम लोहनी एक बौद्धिक चिन्तक एवम् कुशल समीक्षकका रुपमा परिचित छन् | कला, साहित्य, समाज र भाषाक्षेत्रमा केन्द्रित रहेर उनका विचार, समीक्षा र समालोचनाहरू

मसँगै मेरो देश चिनिने अवसर पायो : उमा बादी

काठमाडौं । विकासोन्मुख देश नेपालको अविकसित ठाउँ हो सुदूरपश्चिम । झन् त्यहाँको एक समुदाय जसलाई समाजले राम्रो दृष्टिले हेर्दैन, त्यही समुदायकी एक महिला हुन् उमा बादी । उनैलाई प्रसिद्ध अन्तर्राष्ट्रिय

एड्स अब मृत्युको पर्याय रहेन, न्यून क्षतिका लागि धेरै उपचार विधि आइसक्यो : डा. शाक्य

विगत एक दशकयता निरन्तर रुपमा एचआईभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआईभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेका तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । हरेक डिसेम्बर महिनाको पहिलो दिन

'किताब नपढी गतिलो लेखक हुन सम्भव छैन'

२०७४ सालमा पहिलो उपन्यास पैताला’ सार्वजनिक भएपछि लेखक गनेस पौडेल रोचक विषयवस्तु र पृथक् शैलीका कारण समीक्षक तथा पाठकहरूबीच लोकप्रिय बन्न पुगे । लामो समयदेखि अखबारी लेखनमा समेत आबद्ध रहँदै


z