• २०८१ बैशाख २४ सोमबार

नेपाल इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल

kharibot

काठमाडौँ। शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा आज समितिले कलेजका दुई पक्षलाई बोलाएर गरेको छलफलमा समस्या समाधानका लागि थप अध्ययन गर्नुपर्ने भएकाले घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको समितिका सदस्य मनकुमारी केसीले जानकारी दिईन । ‘‘कलेज निजी वा सामाजिक के हो भनेर अहिल्यै नै छुट्याउन समस्या भयो,’’ उनले भनिन्, ‘‘त्यसैले कलेज निजी वा सामुदायिक के हो । त्यहीअनुसार समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो ।’’ 

विसं २०५१ मा स्थापना भएको उक्त कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने र सञ्चालक समिति सदस्य हरि पाण्डेबीच निजी वा सामाजिक भन्ने विषयमा विवाद हुँदै आएको छ । समितिले आज दुवै पक्षलाई बोलाएर उनीहरुको धारणा बुझेको थियो । बैठकले अहिले अध्ययन गरिरहेका विद्यार्थीको पठनपाठनमा असर नपर्ने गरी वातावरण मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा दिएको समिति सदस्य केसीले जानकारी दिईन । 

पहिले निजी संस्थाका रुपमा दर्ता भएको उक्त कलेज पछि सामाजिक बनाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सामाजिक संस्था दर्ता गरिएको उक्त कलेजमा संस्थापकबीच विवाद देखिएपछि खारेजको प्रक्रियामा लगेको छ । 

सभापति घर्तीले सामाजिक भनेर दर्ता गरिएको कलेजलाई निजीकरण गर्न नपाइने बताईन । उनले आवश्यक कागजात अध्ययन गरेर कलेजबारे निर्णय लिइने बताउनुभयो । समिति सदस्य खगराज अधिकारीले कागजबाट कलेज सामाजिक भएकाले निजीकरण गर्न नमिल्ने बताइन् । अर्का सदस्य मानबहादुर विश्वकर्माले एउटा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएको कलेज पटक पटक विश्वविद्यालयको सम्बन्धन फेर्नु कलेज सञ्चालनमा शङ्का उब्जिएको बताए । 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कलेज सामाजिक संस्थाका रुपमा दर्ता भएकाले सामुदायिक रुपमा सञ्चालन गर्नुपर्ने बताए । कलेजका कार्यकारी अध्यक्ष न्यौपानले कलेज निजी भएकाले आफूहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताए । बैठकमा समिति सदस्य जीवनराम श्रेष्ठ, उमाकान्त चौधरी, भैरवबहादुर सिंह, नमिता चौधरी, उमेश श्रेष्ठलगायतले सामाजिक उद्देश्य दिई सञ्चालन भएको कलेज निजीकरण गर्न नपाइने बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै