काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टिमले धमाधम आफ्ना खेलाडीको टुंगो लगाउदै गरेका छन् ।
यसै क्रममा चितवन टाइगर्सले नेपाली अन्डर १९ टिमका पुर्व कप्तान पृथु बास्कोटालाई कप्तान बनाएको छ। नेपाली राष्ट्रिय टिमका दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा दिलीपनाथ, भीम सार्की, सन्दीप सुनार, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम जस्ता खेलाडी रहेका छन्। चितवनले अघिल्लो इपिएलमा खेलेका सुनाम गौतम र योगेन्द्र सिंह कार्कीलाई रिलिज गर्दै इशान पाण्डे, आदील खान र सागर ढकाललाई भित्राएको छ। त्यस्तै चितवनले ट्यालेन्ट हण्टबाट आकाश थापालाई अनुबन्ध गरेको छ। आकाश यस अघि पनि चितवनबाटै इपिएल खेलेका थिए।
चितवनको टिम प्रशिक्षकमा पुर्व राष्ट्रिय टिमका खेलाडी कलाम अली रहेका छन् भने टिम म्यानेजर तथा टेक्निकल निर्देशकमा श्यामशंगजंग थापा रहेका छन्। चितवनमा विदेशी खेलाडीहरुमा इल्याण्डका क्रिकेटर जोहन सिम्सन र जर्ज स्कट रहेका छन् उनीहरु काठमाडौँ आइसकेका छन् भने अर्का खेलाडी आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङ भने विहिबार राति सम्म काठमाडौँ आइपुग्ने चितवन टाइगर्सले जानकारी दिएको छ।
पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।