युवाको कृषिमोह : यसरी किबी कृषक बन्दैछन् शिक्षक भोजकुमार !

खरीबोट

सामान्यतया भन्ने गरिन्छ – शिक्षित युवाले कृषि पेशा गर्दैनन् । पढेकाहरुले कृषिमा काम गरेर स्वदेशमै स्वरोजगार बन्नेभन्दा विदेश भासिहाल्छन् भन्ने मानिसकता भए पनि ओखलढुंगाका ३५ वर्षीय युवा भोजकुमार धमला र उनका साथीहरुले भने त्यस्तो सोचाइ राख्नेहरुलाई गलत साबित गरिदिएका छन् । उनको समूहले विगत ६ वर्षदेखि किबी खेती गर्दै आएको छ । 

अंग्रेजी विषयमा एमए/एमफिल गरेका भोजकुमार धमला पेशाले शिक्षक हुन् । चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेजमा ‘लेक्चरर’ उनी पछिल्लो समय नेपालमा नयाँ फलको नामले परिचित किबी उत्पादनमा रमाइरहेका छन् । उनको मिहिनेत देख्दा लाग्छ उनी शिक्षक नभएर एक नामी किबी कृषक हुन् । अधिकांश युवाजमात विदेश भासिने र सरकारी जागिरको आशामा दौडिने गरिरहेका बेला धमलाले भने फरक बाटो रोजेका हुन् ।

आफूलाई उदाहरणीय बनाउन धमलाको एउटा टिम बन्यो र भोटेचौर एग्रिकल्चर अर्गानिक भिलेज प्रालिको नाममा कम्पनी समेत दर्ता भयो । हाल कम्पनीको सचिवकोे जिम्मेवारी सम्हाल्दै आएका धमला र उनका अन्य १५ जना साथीहरु विगत ६ वर्षयता किबी खेती गरिरहेका छन् । उनीहरुले सुरुवाती समयमा किबी के हो, नेपालको भौगोलिक वातावरणमा हुन्छ वा हुन्न भन्ने जानकारी समेत नहुँदै यसको खेती सुरु गरेका थिए । गरेको पौरख खेर गएन बरु सफलता हात पर्यो । पब्लिक र समाजले समेत किबीखेती गर्दै छौँ भन्दा विश्वास नगरेको उनी सम्झिन्छन् । सोही कारण केही समय दोधारमा समेत परेका उनले ती कुरा छोडेर पौरखबाट हात झिकेनन् फलतः उनको किबी उत्पादनले हाल धेरै चर्चा बटुलिरहेको छ । 

१० वर्षजति युरोप बसेर नेपाल फर्केका साथीबाटै उनले किबी फलबारे थाहा पाएका थिए । युरोपमा राम्रो हुने नेपालमा कसो नहोला भन्दाभन्दै उनको किबी खेती चल्नथालेको छ । उनीहरुले गरे के सकिदैँन भन्ने सोच भएका १५ जना युवा भएर किबी खेतीमा हात हालेका थिए । 

सोमध्ये प्रत्येक व्यक्तिबाट ६/६ लाख रुपैयाँ संकलन गरेर यसको खेती सुरु भएको थियो । १५ जनाको टिम, ९० लाख पैसा र ८० रोपनी जग्गामा सिन्धुपाञ्चोक जिल्लाको भोटेचौरमा आजभन्दा ६ वर्षअघि  किबी कृषि सुरु भयो  । त्यसको चार वर्षसम्म बोट हुर्कनै समय लाग्यो भने त्यसपछि विस्तारै फल दिन थाल्यो । हाल छैटौँ वर्षमा किबीले फल दिइसकेको धमलाले जानकारी दिए । 

धमलाका अनुसार बिरुवाको उत्पादन क्षमताअनुसार ३५ देखी ४० प्रतिशत उत्पादन गर्न सफलता मिलेको छ । धमला र उनका साथीहरुले कृषि अनुसन्धान केन्द्रमार्फत बिरुवा लिएर यसको खेती गरेका हुन् । अहिले यो समूहले नेपालमै नर्सरी व्यवस्थापन गरेर बिरुवा समेत उत्पादन गरिरहेको छ । उनीहरुले ३ सय ५० रुपैयाँ प्रतिगोटामा १२ सय बिरुवा लगाएका थिए । अहिले उक्त बिरुवा हुर्केर फल दिनथालेका छन् । 

के हो किबी ? कसरी गर्ने खेती ? 


वर्षमा एकपटक फल्ने किबी सामान्यतया चैतबाट फुल्न सुरु गरेर वैशाखभित्र फलिसक्छ भने कात्तिक अन्तिमभित्र बजारमा पठाउनयोग्य दाना तयार हुन्छ  । किबीको एउटा वयस्क बोटले एक पटकमा कम्तीमा ५० किलोभन्दा धेरै उत्पादन दिन्छ । ५० वर्षसम्म पनि एउटै रुखले आम्दानी दिने भएकाले  कृषकले धेरै सफलता हात पार्न सक्ने उनको भनाइ छ । एक रोपनी जग्गामा  १६ देखी २० वटा बिरुवा लगाउन सकिन्छ  भने एउटा बोटबाट ३५० रुपैयाँ किलो बेच्दा पनि एक बोटबराबर १५ हजार रुपैयाँ कमाउन सक्छन् । एक रोपनी जग्गामा कम्तीमा १६ देखि २० वटा बिरुवा लगाउन सकिने उनले बताए । जहाँ १६ वटा बोटमा कम्तीमा ४ वटा भाले हुन्छ । १६ वटा बिरुवाले ५० किलोको दरले फल दिँदा ७५० किलो फल एक सिजनबाट प्राप्त गर्न सक्छ भने ३५० का दरले २ लाख २५ हजार रुपैयाँ आम्दानी गर्नसक्छ  । जुन अन्य अन्नले दिने आम्दानीभन्दा धेरै छ । 

रोप्ने प्रक्रिया
एक ‘मेल’ बिरुवाबराबर ८ वटा ‘फिमेल’ बिरुवा रोप्नुपर्ने धमला बताउँछन् । उनका अनुसार मेल बिरुवाले फल नदिई परागसेचनको काम गर्छ भने फिमेल बिरुवाले फल उत्पादन गर्छ । हेर्दा मेल र फिमेल बिरुवा एउटै देखिने भए पनि फूल फुल्ने समयमा फूलको लेयरको आधारमा छुट्याउन सकिन्छ  जहाँ मेल बिरुवाको फूलमा २ मात्र लेयर हुन्छ भने फिमेल बिरुवाको ३ लेयर हुन्छ । जुन भुवा रुवाभन्दा नरम हुने भएकाले भाले र पोथी बिरुवा पहिचान गर्न सकिन्छ । 

नेपालको परिपेक्ष्यमा समुद्री सतहबाट हजारदेखि २५ सय मिटरसम्मको भूभाग किबी खेतीको लागि उपयुक्त रहेको मानिन्छ । उनका अनुसार उक्त किबी खेती १३ सय मिटर भूभागमा रहेको छ । यसरी हेर्दा नेपालका धेरै डाँडाकाँडाहरुमा किबी फलाउन सकिन्छ । हालसम्म नेपालका ३४ जिल्लामा किबी खेती गरिएको छ भने सबैभन्दा बढी इलाम, ताप्लेजुङ,  धनकुटा र हाल सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर र रामेछापमा समेत किबी खेती गरिएको छ । त्यसो त यसको खेतीले नै उनको परिचय समेत दिने काम गरेको छ । त्यसबाहेक व्यावसायिक खेती गर्दा मिल्ने आर्थिक समृद्धिले आफू खुसी हुन सकिने उनको भनाइ छ । उनले ६ वर्षको मिहिनेतमा यही वर्षबाट लगानीको केही अंश उठ्ने अपेक्षा गरेका छन् । 

सिन्धुपाञ्चोकको भोटेचौरमा उत्पादन भएको किबी हाल काठमाडौँ कपनमा भण्डारण गरेका धमलाले यो वर्ष २० देखि २५ हजार किलो उत्पादन हुने अनुमान गरेका छन् । नेपालमा किबी फु्रटलाई मिल्ने कोल्डस्टोर नभएकाले आफूहरु बजारीकरणको पाटोमा लागिपरेको उनको भनाइ छ । अहिलेलाई  अस्थायी भण्डारणमा व्यवस्थापन गरेको धमलाले जानकारी दिए । 

भोटेचौरमा उत्पादित किबीलाई टिपेपश्चात् ग्रेडिङ गरिन्छ जहाँ ए र बी साईज बजारमा पठाइन्छ भने सी साइज सानो हुने भएकाले बजारमा पठाउन मिल्दैन । यद्यपि सी साइजको दानाबाट जाम, जुस र वाइन समेत बनाउन सकिने उनको भनाइ छ । तर नेपालमा जाम, जुस, वाइन बनाउनसक्ने प्रविधि आइसकेको छैन । प्रविधि भए साना किबी दाना प्रयोग र व्यवस्थापन गर्न समस्या हुँदैन । 

दैनिक रुपमा किबी खानाले  क्यान्सर, डाइबिटिज, बाथ र  मुटुरोग समेत नलाग्ने बताइन्छ ।

बजारमा ए ग्रेडको किबी दानालाई ५ सय र बी ग्रेडको दानालाई ३ सय ५० रुपैयाँमा उनीहरु बिक्री गर्छन् । अत्यन्त मीठो हुनाले बजारमा यसको माग धेरै रहेको उनको अनुभव छ ।     
फाइदा छ, बजार छैन !
पछिल्लो समय किबी सबैको रोजाइमा पर्न थालेको छ । नयाँ फलको रुपमा नेपालमा परिचित हुँदै गरेको किबी फल स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै राम्रो मानिन्छ । जुनसुकै उमेर समूह र बिरामीले खानसक्ने किबी वास्तवमै पौष्टिक तत्वले भरिपूर्ण छ । यसमा फाइवर धेरै हुने भएकाले गर्भवती, सुत्केरी र बालबच्चाको लागि समेत उत्तिकै फलदायी मानिन्छ ।

अनुसन्धानलाई हेर्दा एक दाना किबी सात कोसा केरा,  चार वटा स्याउ, सुन्तला र कागती खाँदा पनि नपाइने भिटामिन यसमा पाइने उनको दाबी छ । दैनिक रुपमा किबी खानाले  क्यान्सर, डाइबिटिज, बाथ र  मुटुरोग समेत नलाग्ने बताइन्छ । मोटोपन घटाउन समेत किबीले ठूलो भूमिका खेल्ने बताइन्छ । 

किबी त्यस्तो एक मात्र फल हो जसले ७ वटा फरक–फरक स्वाद प्रदान गर्न सक्छ । धमलाका अनुसार एक किबीमा ऐँसेलु,  भुइकटहर,  आँप,  स्याउ,  केरा,  सुन्तलालगायतका फलको सम्मिश्रण पाइन्छ । नेपाली सन्दर्भमा किबी नयाँ फलको रुपमा उत्पादन र उपयोग गर्न थालिए पनि धेरैलाई यसबारे थाहै छैन । उत्पादन गरेकाहरुले प्रचारप्रसारमा खासै वास्ता नगर्दा यसको बजारीकरणमा समस्या थपिएको धमलाको अनुभव छ । धेरैले अझै पनि किबी के हो भनेर नबुझिसकेको अवस्था छ । किबीको राम्रो बजारीकरण गर्न सक्ने  र फाइदाहरु बताउँदै जाने हो भने यसको भविष्य राम्रो भएको उनले दाबी गरे । 

योजना
बढ्दो उत्पादनलाई मध्यनजर गर्दै यो समूहले व्यवस्थित उत्पादन र व्यवस्थापनको लागि सरकारी  निकायको पहुँचमा जाने र बजारसम्म पठाउने योजना बनाएको छ । खासगरी यसबारे प्रचारप्रसार, उत्पादन र भण्डारण गरी बजारीकरण गर्ने योजना यस समूहको छ । धमलाका अनुसार इलाममा सरकारले किबी जोन नै घोषणा गरेको छ । यदि यसलाई व्यवस्थित बनाउन सके वैदेशिक रोजगारीमा जाने युवालाई स्वरोजगार बनाउनसमेत सकिन्छ ।

त्यसो त उनले अरुलाई समेत यसको खेती गर्न हौस्याउने योजना बनाएका छन् । नयाँ खेत ीगर्न चाहने कृषकलाई बिरुवा र खेतीबारे जानकारी दिने उनको योजना छ । उनले आफ्नो फर्ममार्फत नै टेक्निकल सपोर्ट,  बिरुवाहरु उपलब्ध गराउने र अध्ययनको निम्ति फर्ममा गएर सिकाउने योजना बनाएका छन् । यस्तो सहयोग फर्ममार्फत नै व्यवस्था गरिने उनले बताए । इच्छुक कृषकलाई सम्पर्कमा आउन समेत उनको अनुरोध छ । 

सम्बन्धित समाचार

युवाको कृषिमोह : यसरी किबी कृषक बन्दैछन् शिक्षक भोजकुमार !

सामान्यतया भन्ने गरिन्छ – शिक्षित युवाले कृषि पेशा गर्दैनन् । पढेकाहरुले कृषिमा काम गरेर स्वदेशमै स्वरोजगार बन्नेभन्दा विदेश भासिहाल्छन् भन्ने मानिसकता भए पनि ओखलढुंगाका ३५ वर्षीय युवा भोजकुमार धमला र

इलाम किबी क्षेत्र घोषणा

इलाम । किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा

पचहत्तर प्रतिशत अनुदानमा किसानलाई किबी

त्रिशूली । बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।  चिनी


z