• २०८१ बैशाख २० बिहीबार

आलु–मकै छाडेर किबीतिर किसान

kharibot

भोजपुर । आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् ।

बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यावसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् ।  
    
एकपटक रोपिएपछि बर्साैँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबीखेतीमा लागेका छन् ।

विशेष गरेर भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका,  वडा नं ४ नागीको लुङ्गिन र  वडा  नं ५ को मझौले तथा पौवादुङ्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

दिमागको तेज र रक्तशुद्धिका साथै  युरिक एसिड, अल्सर रोगीका लागि उपयोगी किबी एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

एक बगानबाट वर्षमा चार सय–पाँच सय केजी किबी उत्पादन हुने भए पनि जिल्लाको कुल उत्पादनको अभिलेख भने राखिने गरेको छैन । 

केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिक रूपमा १५० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको नागीका नवीन राईले बताए ।

मकै फल्ने बारी मासेर पाँच वर्ष अघिदेखि किबीको व्यावसायिक खेती भइरहेको उनको भनाइ छ ।

रोपिएको दुई वर्षदेखि केही उत्पादन दिन थालेकामा यस वर्षदेखि भने उत्पादनबाट दोब्बर आम्दानी लिने लक्ष्य नवीनको छ । उनले भने, ‘‘किबीले राम्रो उत्पादन दिन थालेको छ । मकै, आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु । यस क्षेत्रलाई किबी पकेट क्षेत्र बनाउने मेरो लक्ष्य छ ।’’
    
नवीनले शुरुमा इलामबाट बिरुवा ल्याएर खेती शुरु गरेका छन् ।  किबीका साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उनले बताए ।

राईका बारीमा रु दुई लाखदेखि तीन लाखसम्मको किबी फल्ने गरेको  छ । उहाँले किबीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

आफ्ना बारीमा उत्पादित किबीमध्ये केही गाउँमा खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको नवीनले जानकारी दिए । किबी प्रतिकेजी रु २५० देखि  ३०० मा बजारमा बिक्री हुने गरेको छ ।

नजिकै मध्यपहाडी राजमार्गसमेत बनिरहेको हुँदा उत्पादित किबीले राम्रो बजार पाउनेमा उनि आशावादी छन् । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीहरूको पनि यसतर्फ आकर्षण बढेको छ ।

सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ’’,  नवीनले भने ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका एकराज विष्टले पनि किबीको व्यावसायिक खेती गरिरहेका छन् । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षदेखि किबीखेती थालिएको बताए ।

उनले भने ,‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ  तर अन्यबालीका तुलनामा किबीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किबीको खेतीमा लागेको हुँ ।’’

किबीबाट सोचे जस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । पहिलो पटक खेती गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उनले बताए ।

कृषक विष्टले भने,‘‘ खास गरेर किबीको बिरुवा हिउँद महिना अर्थात् पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा लगाउनुपूर्व तीनदेखि चार फिट गहिराइ र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुहाएर लगाएमा राम्ररी फस्टाउँछ  तर धेरै साथीहरूले यसरी खेती गरेको पाइँदैन । त्यसो भयो भने राम्रो आम्दानी लिन सकिँदैन ।’’

किसानले व्यवसायिक रुपमा खेती गरिरहे पनि स्थानीय तह तथा सरोकार पक्षले यसको विस्तारमा ध्यान दिनुपर्ने किसानको माग छ । साथै उत्पादित किबीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

‘‘किबी किसानको आर्थिक अवस्था  सुधारमा टेवा पुर्याउने  बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरूपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने  बिक्रीवितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भने ।

टेम्केमैयुङ गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको  छ ।

सम्पूर्ण किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लगाई गाउँपालिकालाई कृषिमा नमूना बनाइने गाउँपालिकाले जनाएको छ ।

विभिन्न समयमा किसानलाई अनुदान दिनेलगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।

उनले भने,‘‘ यहाँको खेतीको सम्भावना हेरेर सबै बालीलाई प्रोत्साहन गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्र अलि बढी चिस्यान खालको भूगोल छ । त्यसैले यहाँ विशेष गरेर किबीको राम्रो सम्भावना छ । त्यही भएर यसको खेतीमा लागेका कृषकलाई सहयोग गर्ने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ ।’’

व्यावसायिक खेतीमा लागेको कृषकलाई सरकारले विशेष कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ ।

यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखी माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक  रहेको किसान बताउँछन् । 

स्थानीय कृषक रत्नबहादुर विष्टले भने, “किबीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि १५० केजीसम्म फलाउन सकिन्छ । व्यावसायिक रूपमा लगाउने हो भने वर्षमा रु चार पाँच लाख कमाउनका लागि युवाहरू अर्काको देशमा दुःख गर्न जानु पर्दैन । त्यसैले पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको छ । अहिले हाम्रो गाउँमा परम्परागत बाली छाडेर मानिसहरूले यसको व्यावसायिक खेती थालेका छन् ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै